नेकपा एमालेको वरिष्ठ नेता माधव नेपालले गलत प्रवृतिविरुद्ध उभिने तर, कसैप्रति दुष्मनी नराख्ने बताएका छन्। त्यस्तै पार्टीमा अहंकारी स्वार्थी, पदलोलुप हाबी रहेका कारण सहि नेता छान्न र अहंकारी नबन्न विद्यार्थीलाई सुझाएका छन्।
माधव पक्षीय अनेरास्ववियुले कार्की ब्यांक्वेटमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
नेता नेपालले अहंकारी प्रवृत्तिको पछाडि नलाग्न पनि सुझाएका छन्। ‘अहंकारी नबन्नुहोस्, त्यस्ताको पछाडि नलाग्नुहोस्, घमण्ड र अहंकारले मान्छेलाई समाप्त गर्छ, रावणलाई पनि घमण्डले समाप्त पारेको थियो,’ नेता नेपालले भने।
नेता नेपालले कम्युनिष्ट पार्टीमा व्यक्ति नभई नीति र विधी प्रधान हुने बताए। ‘पुष्पलाल, मदन भण्डारीले कहिले व्यक्ति प्रधान सोच नलिई पार्टीको विधान र नीति अनुरुप सञ्चालन गरेका थिए, अहिले व्यक्ति हाबी हुनु दुःखद हो’ नेता नेपालले भने।
अर्कातिर पार्टी एकताका लागि दुवैतर्फका दोस्रो तहका नेताहरू सक्रिय भएर लागिरहेका छन्।
त्यति नै बेला दुबै शीर्ष नेताहरू एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका हुन्। शनिबार नै पार्टी अध्यक्ष केपी ओलीले माधव नेपाल आन्दोलन विरोधी र देशद्रोही रहेको आरोप लगाएका थिए। उनले पार्टीमा माधव नेपाललाई ठाउँ छैन भन्दै दोर्याएका छन्।
त्यस्तै दुवै पक्षले फोर्स गठन गर्ने प्रतिस्पर्धासमेत चलिरहेको छ। शनिवार माधव नेपाल पक्षले अखिल फोर्सको मार्चपास गरेको छ। केही समयअघि ओली पक्षका युथ फोर्स र युवा संघले वृहत शक्ति प्रदर्शनसहित मार्चपास गरेको थियो।





























प्रतिक्रिया