संघीय संसद् सचिवालयको सम्पूर्ण आर्थिक कारोवार पूर्णसरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत हुने भएको छ ।
संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार संसद्को बैठकमा सांसदले पटक–पटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएको भन्दै गुनासो आएकाले राष्ट्रिय बाणिज्य बैंकमार्फत कारोबार गर्न लागेको जनाएको छ ।
अर्थ मन्त्रालयको निर्देशनपछि सरकारी स्वामित्वको बैंकमार्फत् नै कारोबार हुने व्यवस्था मिलाइएको प्रवक्ता पाण्डेले बताएका छन्। सभामुखको निर्देशनअनुसार सचिवालयले २०७७ मङ्सिर १८ गते सरकारी कारोवार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको सो बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थलाई पत्राचार गरेको थियो ।
२०७७ माघ ११ को पत्रबाट आर्थिक वर्षको बिचमा खाता परिवर्तन गर्न कठिनाइ हुने अर्थमन्त्रालयले जानकारी दिएको थियो । सचिवालयले २०७८ असार ३१ गते पुनः ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो ।
सभामुखको पहलपछि अर्थले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत् हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाता सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन गर्न निर्देशन दिएको प्रवक्ता पाण्डेले जानकारी दिएका छन्। यसअघि संसद सचिवालयको सरकारी खाता एभरेष्ट बैंकमार्फत सञ्चालन हुँदै आएको थियो ।





























प्रतिक्रिया