प्रचण्डको रोजाइमा नारायणकाजी कि महरा ?

प्रचण्डको रोजाइमा नारायणकाजी कि महरा ?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र पूर्वसभामूख कृष्णबहादुर महरा दुवैले मन्त्री बन्न चाहना राखेपछि पार्टीलाई मन्त्री टुंगो लगाउन सकस परेको छ।

बढीमा सातजना फूल मन्त्री र एक राज्यमन्त्री भागमा परेको माओवादी केन्द्रमा यतिबेला सबै सांसद मन्त्रीबन्न आकांक्षी छन्।

तीमध्ये जनार्दन शर्मा र पम्फा भूसाल मन्त्री बनिसकेका छन्। बाँकी पाँच मन्त्रीमा क–कसलाई पठाउने भन्ने टुंगो लिन पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डनै अप्ठेरो परेको माओवादी स्रोतको दाबी छ।

स्रोतका अनुसार आइतबारसम्म लगभग सहमति नजिक आइसके पनि पार्टी प्रवक्ता श्रेष्ठ र पूर्वसभामूख महरा दुवैले मन्त्री बन्ने चाहना राखेपछि सहमति बिथोलिएको हो।

‘दुबैजना पार्टीको शीर्ष नेता हुनुहुन्छ, श्रेष्ठले यसअघिनै उप्रप्रधानसहित परराष्ट्र र महरा सभामुख र सञ्चारमन्त्री भइसक्नुभएका कारण गठबन्धन सरकारमा त्यही वा त्योभन्दा माथिको स्थान नलिइ उहाँहरू जानुहुन्न, गठबन्धनमा सबैलाई मिलाउनुपर्ने बाध्यताले उहाँहरूले चाहना राखेकै मन्त्रालय पाउने अवस्था पनि छैन्, अर्को फेरि उहाँहरूलाई नै मन्त्री बनाउँदा एकपटक पनि मन्त्री नभएकाहरूको पालो नआउने हुँदा यसलाई मिलाउन प्रचण्डलाई दबाब परेको छ,’ स्रोतले भन्यो।

पार्टी प्रवक्ता श्रेष्ठ र पूर्वसभामूख महरा दुवै प्रचण्डले गुमाउन नचाहेको पनि स्रोतले बतायो। उनीहरूलाई नफकाए प्रचण्डलाई घाटा पर्ने हुँदा दुबैलाई फकाउनुपर्ने बाध्यता छ। तर, अन्यलाई पनि नसमेटे उनी अप्ठेयारोमा पर्ने स्रोतको दाबी छ।

‘श्रेष्ठ र महराबाहेक अन्यलाई नै मन्त्री बनाएर यो समस्या सुल्झाउने बाटोमा प्रचण्ड हुनुहुन्छ, आज नभए भोलिसम्म मन्त्री टुंगो लाग्छ,’ स्रोतले भन्यो।

माओवादी केन्द्रमा मात्र होइन् कांग्रेस र जसपामा पनि त्यही समस्या छ। त्यसैकारण सरकार गठन भएको २० दिन बितिसक्दा समेत सरकारले पूर्णता पाएको छैन।

जसपाबाट उपप्रधानसहित परराष्ट्रमन्त्री बनेर उपेन्द्र यादव सरकारमा सामेल हुने देखिएको छ भने कांग्रेसमा रामचन्द्र पक्ष र कृष्ण सिटौलासहित देउवा पक्षले मन्त्रीको नाम टुंगो लगाउन नसकेका कारण सरकारले पूर्णता पाउन नसकेको हो। 

तथापि, सत्ता गठबन्धनले भने यसको दोष माधव नेपाल पक्षलाई दिएको छ। माधव नेपाल पक्ष पनि पार्टी अध्यक्षले कारबाही गरे तुरुन्त सरकारमा सहभागी हुने दाउमा छ। त्यही कुरा बुझेर पार्टीले अहिलेसम्म कारबाही गरेको छैन। 

Skip This
Skip This
Logo