ऊर्जामन्त्री भुसालद्वारा एलपी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

ऊर्जामन्त्री भुसालद्वारा एलपी ग्यास विस्थापन अभियानमा सघाउन आग्रह

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डलरमा खरिद गर्नुपर्ने एलपी ग्यास विस्थापित गरी विद्युत् खपत गर्ने अभियानमा सघाउन अपिल गरेकी छिन्। ललितपुर महानगरपालिका–३ मा साेमबार आयोजित विद्युतीय गाडी र विवेकशील बत्ती शुभारम्भ गर्ने कार्यक्रममा उनले ललितपुरका जनतालाई विद्युतीय सामग्री प्रयोग गर्न आग्रह गरिन्। 

मन्त्री भुसालले एल्पी ग्यासलाई विस्थापित गर्ने गरी विद्युत्को उपभोग गर्नुपर्नेमा जोड दिँदै भनिन्, “बिजुलीको चुलोमा खाना पकाउन सबैलाई आग्रह गर्न चाहन्छु।” आफूले विद्युत् महसुल दर घटाउने नीति सार्वजनिक गर्न लागेको जानकारी दिँदै उनले भनिन्, “घरेलु उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर कम गर्नेछु। केही दिनमा त्यस विषयमा निर्णय गर्नेछु।”

भान्सादेखि सवारीसाधनसम्म विद्युतीय ऊर्जा प्रयोग गर्न अपिल गर्दै मन्त्री भुसालले भनिन्, “हाम्रो देशको पैसा हाम्रै देशमा खर्च गर्न लागौँ। त्यसले मात्रै व्यापारघाटा कम गर्न सहयोग गर्छ।” आफूले आधारभूत जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने नीति ल्याउन लागेको उनले जानकारी दिइन्। सिंहदरबारको अधिकार घरदैलोमा भन्ने नारा दिएर तीन तहको सरकारको व्यवस्था गरिएको स्मरण गर्दै उनले वडा नं ३ ले समाजका सबै क्षेत्र वर्ग र समुदायलाई आफ्नो उत्कृष्ट प्रशासनिक, सेवा र सुविधा दिन सफल भएको बताइन्। 

कार्यक्रममा वडाध्यक्ष श्रीगोपाल महर्जनले स्वास्थ्य चौकी व्यवस्थित गरेको, वडावासीका लागि निःशुल्क विद्युतीय गाडीको सेवा उपलब्ध गराएको र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराएको बताए। कार्यक्रममा मन्त्री भुसालले विवेकशील बत्ती सार्वजनिक गर्नाका साथै विद्युतीय गाडीको शुभारम्भ गरिन्। 

Skip This
Skip This
Logo