सत्तारूढ गठबन्धनले गठन गरेको सात सदस्यीय कार्यदलले आज सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी गरेको छ।
त्यसपछि गठबन्धनको शीर्ष नेतृत्व तहलाई तयार गरिएको कार्यक्रम हस्तान्तरण गरिने कार्यदलका सदस्य राजेन्द्र श्रेष्ठले बताए।
'आज तयार गरिसक्ने भन्ने छ, तयार भएपछि नेताहरूलाई हस्तान्तरण गर्ने हो', श्रेष्ठले केन्द्रविन्दुलाई बताए। उनका अनुसार न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकताहरू समावेश हुनेछन्।
उनले प्राथमिकतामा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालनको क्रममा भत्काएको प्रणालीलाई व्यवस्थित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संसद्लाई रक्षा गर्नेसँगै संघीयता कार्यान्वयन र अग्रगामी राजनीतिक, आर्थिक, सामाजिक कार्यक्रमहरू परेको र तिनै कार्यक्रम समावेश हुने बताए।
कार्यक्रममा दलहरूबीच आपसी समझदारीमा संविधान संशोधनको सवाल पनि समेटिने कार्यदलको तयारी छ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा कांग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, माओवादी केन्द्रका देव गुरूङ, वर्षमान पुन र जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन्।





























प्रतिक्रिया