प्रदेश १ को नामको रूपमा चारवटा नाम बहसमा छन्। सगरमाथा, किरात, कोशी र लिम्बुवान।
यही चारमध्ये एउटा नाम प्रदेश १ ले पाउने सम्भावना छ। भौगोलिक पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने भन्ने पक्षले सगरमाथा हुनुपर्नेमा जोडबल गरिरहेका छन्।
भौगोलिक र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामकरण गर्नुपर्ने भन्दै आएको पक्षले भने किरात प्रदेश हुनुपर्ने बताउँदै आएका छन्। यही पक्षमा रहेका केही सांसदको चाहना लिम्बुवान हुनुपर्ने पनि छ। र, जलाधार (नदीनाला) को आधारमा प्रदेशको नामकरण हुुनुपर्ने भन्ने पक्षले कोशी प्रदेश हुनुपर्ने माग गर्दै आएका छन्।
मुख्यमन्त्री शेरधन राई पनि प्रदेशको नामकरण जलधारको आधारमा गर्नुपर्ने पक्षमा रहेको उनीनिकट एक सांसदले केन्द्रविन्दुलाई बताए।
ती सांसदका अनुसार जलाधारको आधारमा कोशी प्रदेश हुनुपर्ने राईको चाहना छ। देशको सातमध्ये पाँच प्रदेशको नाम जलाधारको आधारमा बागमती, गण्डकी र कर्णाली नामङ्कित छ। बाँकी दुई प्रदेश लुम्बिनी र सुदूरपश्चिम प्रदेश भने भौगोलिक पहिचानको आधारमा नामङ्कन भएको हो।
यसरी नामकरण भएका पाँचमध्ये तीन प्रदेशको जलाधारको आधारमा राखिएको हुनाले मुख्यमन्त्री राईले कोशी नै राख्नुपर्नेमा जोडबल गरिरहेका हुन्।
एमाले अध्यक्ष केपी ओलीको चाहना पनि कोशी प्रदेशमै छ। गृह प्रदेशको नामबारे तत्कालीन नेकपा हुँदा अध्यक्ष ओलीको जोड कोशीमा रहेको बेला नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने ‘किरात’ हुनुपर्ने बताएका थिए।
हाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको प्रदेश १ मा संसदीय दलको नेता रहेका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङबो ‘मौसम’ ले पनि एकजना अध्यक्ष ओलीले कोशी र अर्का अध्यक्ष प्रचण्डले किरात भनेपछि नामको विषय नटुङ्गिएको बताउँछन्।
‘नेकपा हुँदा ९३ मध्ये प्रदेशमा नेकपाका मात्रै ६७ सांसद थियौं, तर, तत्कालीन नेकपाका एकजना अध्यक्ष ओलीले कोशी र अर्का अध्यक्ष प्रचण्डले किरात भनेपछि नामकरण टुङ्गिएन’, मौसम भन्छन्, ‘अब, नाम टुङ्ग्याउनेतर्फ जानुपर्छ र त्यसका लागि बहुमत रहेको दल एमालेले प्रदेशको नामसम्बन्धी प्रस्ताव संसदमा ल्याउनुपर्छ।’
गत शुक्रबार मुख्यमन्त्री राईले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रममा बोल्दै संसद्को बर्खे अधिवेशनबाट प्रदेशको नाम टुङ्ग्याउने बताएका थिए।
भए सर्वसहमति नभए बहुमतको आधारमा नामकरण गरिने उनको भनाइ छ। नेकपा हुँदा छलफलको क्रममा रहेको चार नाममध्ये सगरमाथा र किरातको पक्षमा बराबरी जस्तै सांसद थिए।
रोचक चाहिँ के छ भने सगरमाथा हुनुपर्ने भन्ने सांसदहरूमध्ये धेरैको मौखिक समर्थन कोशी प्रदेशमा छ।
किरात भन्नेहरू केहीको लिम्बुवान प्रदेशमा छ।





























प्रतिक्रिया