क्रियाशील सदस्यता र पार्टी समायोजन विवादले कांग्रेस महाधिवेशन अनिश्चित!

क्रियाशील सदस्यता र पार्टी समायोजन विवादले कांग्रेस महाधिवेशन अनिश्चित!

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसमा क्रियाशील सदस्यता वितरण, नवीकरण र पार्टी समायोजनको विषय पेचिलो बन्दै गएको छ।

पार्टीको संस्थापन पक्षले रमेश लेखक नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदनलाई स्वीकारेर बाँकी विवादित विषयको निरुपण गर्नुपर्नेमा जोड दिँदा रामचन्द्र पौडेल पक्षले प्रतिवेदन नै नमान्ने स्पष्ट पारेको छ।

समितिले छलफलमार्फत् टुङ्ग्याएको विवादित विषयलाई खोतल्न नहुने र खोलिए महाधिवेशनमा व्यवधान निम्तिने संस्थापन पक्षको तर्क छ।

र, विवादित विषयलाई बहुमतबाट भए पनि टुङ्ग्याउनुपर्नेमा देउवा पक्षको जोड छ।
संस्थापन पक्षका नेता तथा सभापति पदका दाबेदार गोपालमान श्रेष्ठले व्यवधान खडा गरेर महाधिवेशनलाई पर धकेल्न नहुने बताएका छन्।

तर, विधि, प्रक्रिया र केन्द्रीय समिति बैठकले गरेको निर्णयको आधारमा क्रियाशील सदस्यता वितरण, नवीकरण र समायोजनको काम नभएको र संस्थापन पक्षले पार्टी नै कब्जा गर्न खोजेको भन्दै पौडेल पक्ष असन्तुष्ट छ।

पौडेलपक्षीय नेता बलबहादुर केसीले लेखक नेतृत्वको समितिले बुझाएको प्रतिवेदनलाई ‘प्रभावशाली नेताको दबाबमा तयार गरिएको प्रतिवेदन’ भनेका छन्।

प्रतिवेदनलाई देउवा पक्षले स्वीकार्ने र पौडेल पक्षले नस्वीकार्ने भएपछि कांग्रेसको भदौ १६ गतेदेखि हुने भनिएको १४ औं महाधिवेशन प्रभावित हुने देखिएको छ। यसअघिको कार्यतालिकाअनुसार १२ साउनमा वडा र १६ साउनदेखि कांग्रेसको पालिकास्तरको अधिवेशन हुनुपर्थ्याे।

हालसम्म दुबै तहको अधिवेशन भएको छैन। अब, कहिले अधिवेशन हुन्छ भन्ने टुङ्गो पनि छैन।

यसअघिको पदाधिकारी बैठकमा सभापति देउवाले कांग्रेसको १४ औं महाधिवेशन निर्धारित मितिमै हुन्छ, हुन्छ, हुन्छ भनेका थिए। तर, नहुने पक्का जस्तै भएको छ।

Logo