मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयोः विमला वली

मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयोः विमला वली

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको आरोप लगाएकी छिन्।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गर्न लगाएको बताइन्।

‘१९ साउनमा मलाई बन्धक बनाएर जबरजस्ती म एमालेमै छु भन्ने विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइयो’ वलीले आज पत्रकार सम्मेलन गरि भनेकी छिन्।

त्यस्तै वलीले आफू माओवादी केन्द्रमै रहेको बताएकी छिन्। ‘मैले १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको हुँ, म माओवादी केन्द्रकै हो, माओवादीमै रहन्छु, वलीले भनिन्।

लुम्बिनी प्रदेश सांसद वलीले १५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको बताइन्। उनीहरुले एमालेमा आउन दबाव दिएको, तर आफूले इन्कार गरेको उनको भनाइ थियो।

तर, १९ गते आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको बताउँदै वलीले भनिन्, ‘विश्वास गरेर गाडीमा बसें । तर, उनीहरूले नेपालगञ्ज नभएर बुटुबल पुर्याए।’

‘तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै वलीले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें। उनीहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याए’

मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले बताएकी छिन्। उनले भनिन्, ‘मैले निरन्तर इन्कार गरिरहें। साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिइ दबाब दिइयो।’

प्रदेशसभा सदस्य वलीले २० गते उनी मुख्यमन्त्री निवासबाट भाग्न सफल भएको बताइन्। मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उनले भनिन्, ‘भाग्ने त पहिल्यै प्लान गरेको थिएँ। कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें । त्यही बेला कसैलाई नदेखेपछि आएँ।’

Logo