टोकियो ओलम्पिकः ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै

टोकियो ओलम्पिकः ७५ पदकसहित चीन शीर्ष स्थानमा कायमै

केन्द्रबिन्दु
0
Shares

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा चीन ७५ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। अमेरिका र जापानलाई उछिन्दै चीन शीर्षस्थान ओगट्न सफल भएको हो।  

चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन्। अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर्न सफल भएको छ। रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौंथो स्थानमा उक्लिएको छ। उसले १७ स्वर्ण, २३ रजत र २२ कास्य पदक प्राप्त गरेको छ । बेलायत १७ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित पाँचौँ स्थानमा छ। 

यसैगरी अस्ट्रलिया १७ स्वर्ण, छ रजत र २० कास्य पदक प्राप्त गर्दै छैटौँ स्थानमा छ। जर्मनी नौ स्वर्ण, १० रजत र १६ कास्यसहित सातौँ, इटली आठ स्वर्ण, १० रजत र १८ कास्यका साथ आठौँँ, फ्रान्स सात स्वर्ण, ११ रजत र नौ कास्य जित्दै नवौँ तथा नेदरल्याण्डस् सात स्वर्ण, नौ रजत र ११ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८८ देशले पदक प्राप्त गर्न सफल भएका छन्।   

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका थिए। सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्सकी सरस्वती चौधरीले आ आफ्नो खेलमा प्रतिस्पर्धा गरेका थिए। पाँचै खेलाडी टोकियो ओलम्पिकबाट बाहिरिइसकेका छन्।

Logo