टोकियो ओलम्पिकमा दौडअन्तर्गत धावकहरूले आफ्नै रेकर्ड तोड्नेदेखि नयाँ राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रेकर्ड बनाउने लहर नै चलेको छ।
महिलातर्फको १०० मिटर दौडमा ३३ वर्षअघि फ्लोरेन्स ग्रिफिथ जोयनरको रेकर्ड इलेन थोम्सन–हेराले तोडिन्। महिला र पुरुष दुवैतर्फको ४०० मिटर दौडमा नयाँ रेकर्डहरू बने। महिलातर्फ सिड्नी म्याकलाउलिनले नयाँ रेकर्ड बनाइन् भने पुरुषतर्फ कास्र्टेन वारहमले नयाँ रेकर्ड बनाए। ती दुवै खेलमा दोस्रो हुनेले पनि यसअघिको रेकर्डलाई उछिन्न सफल भए।
के होला त यसरी नयाँ रेकर्ड बन्नुको कारण? यसको उत्तर केही हदसम्म खेलाडीको खुट्टाबाट पाउन सकिन्छ।
खेलाडीले प्रयोग गर्ने जुत्तामा नयाँ प्रविधीको प्रयोग भएको छ, जसलाई ‘सुपर स्पाइक’ भनिन्छ। जुत्ताको तल्लो भाग (सोल) मा भुइँमा राम्रो पकडका लागि राखिएको गोटी (स्पाइक)मा ‘फोम’ र ‘कार्बन फाइबर प्लेट’ को प्रयोग गरेर ‘सुपर स्पाइक’ बनाउने गरिन्छ। जुत्ताले टेक्ने ‘ट्रयाक’ पनि उच्चस्तरीय प्रविधीको प्रयोगबाट निर्माण भएको छ।
सन् २०१७ मा नाइकीले ‘भेपरफ्लाई’ ल्याएको थियो, जसले सो जुत्ता प्रयोग नगर्नेको तुलनामा प्रयोग गर्नेलाई ४ प्रतिशत ऊर्जा बचाउन सहयोग गर्थ्याे। अहिले प्रायः हरेक जुत्ता उत्पादकले स्पाइक (गोटी)मा उच्चस्तरीय प्रविधीको प्रयोग गर्छन्।
‘फोम’ प्रयोग भएको नयाँ प्रविधीले ८० देखि ९० प्रतिशत ऊर्जा खर्च हुनबाट जोगाउँछ। खेलाडीले टेकेको हरेक पाइलाका लागि ‘स्प्रिंग’ ले जस्तै काम गरी ऊर्जा सञ्चयमा मद्दत गर्छ।
कार्बन फाइबरको प्रयोग भने स्पष्ट छैन। यद्यपि, जुत्ताको गोटीको टुप्पोलाई कडा बनाउँदा बुढी औँला खुम्चँदा र फैलँदा हुने ऊर्जा खपत कम हुने गरेको अध्ययनले देखाएको छ। यसले गोलीगाँठोमा चाप बढाउँछ। तर, त्यस्तो चापलाई सम्हाल्न सकेको खण्डमा ‘कार्बन फाइबर प्लेट’ ले जमिनलाई राम्रोसँग टेक्न सघाउन सक्छ।
टोकियो ओलम्पिकमा खेलाडीहरूको गतिमा भूमिका भएको अर्को प्रविधी ‘ट्रयाक’ हो।
हेर्दा साधारण देखिए पनि टोकियो ओलम्पिकको ‘ट्रयाक’बारे जिम्मेवार कम्पनि ‘मोन्डो’ले ‘ट्रयाक’ को सतहबारे अध्ययन गर्न र ‘ट्रयाक’ बनाउनका लागि तीन वर्ष लगायो। जुत्ताको गोटीमा हुने ‘फोम’ले जस्तै यो ‘ट्रयाक’ले पनि चाप सोस्न र ऊर्जा बचाउन मद्दत गर्छ।
राम्रो ट्रयाकले २.९ प्रतिशतसम्म खेलाडीको गति बढाउन सहयोग गर्ने कुरा सन् १९७८ मा पत्ता लागेपछि ‘ट्रयाक’का प्राविधिक सुधारका प्रयासहरू सुरु भए। अघिल्लो ओलम्पिकका ‘ट्र्याक’हरूको तुलनामा २ प्रतिशतले खेलाडीको गतिलाई दुई प्रतिशतले बढाउने ट्रयाक’ निर्माताको दाबी छ।
‘सुपर स्पाइक’ र ‘ट्रयाक’ बाहेक अन्य कारणले पनि खेलाडीहरूलाई नयाँ रेकर्ड बनाउन सहयोग गरेको हुन सक्छ। कोभिडका कारण ओलम्पिक एक वर्ष सरेको हुनाले केही खेलाडीलाई थप प्रशिक्षणको मौका प्राप्त भएको हुन सक्छ।
(न्यू साइन्टिस्टमा प्रकाशित लौरा हिलीको लेखको भावानुवाद)





























प्रतिक्रिया