हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।
माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा आज सार्वजनिक गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरेको जनाएको छ। नतिजा बोर्डको वेबसाइट, एसएमएस, आईभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ। यता, साउन ३१ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयको सिफारिसमा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको विचार समूहभित्रै पार्टी एकताको सन्दर्भमा अन्तरद्वन्द्व देखिएको छ। माधव पक्षधर भित्र पनि केही केन्द्रीय कमिटी सदस्य लचकताकासाथ पार्टीलाई एक बनाउनु पर्नेमा केन्द्रित देखिएका छन् भने बहुमत केन्द्रीय कमिटी सदस्यहरू नयाँ पार्टी बनाएर अघि बढ्नुपर्ने मत राख्न थालेका छन्।
देउवा सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरेसँगै विपक्षी दल नेकपा एमाले ओली पक्षले यसको विरोध गर्दै आएको छ। ओली नेतृत्वको सरकारले आयोग गठन गरि काम कावार्ही सुरु गरिसकेकोमा देउवा सरकारले उक्त विषयलाई निरन्तरता नदिएपछि विरोधका स्वरहरू बढेका हुन्।
जापान सरकारले दिएको १६ लाख खोप शनिबारबाट नेपाल ल्याउन थालिएको छ। त्यसमध्ये आइतबार पनि ३ लाख डोज खोप ल्याइने भएको छ। जापानबाट प्राप्त खोप यसअघि कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दिइने सरकारको तयारी छ।
संयुक्त राज्य अमेरिकाले इरानका नयाँ राष्ट्रपति इब्राहिम रइसीलाई ऐतिहासिक परमाणु सम्झौतालाई पुर्नजीवन दिनका लागि वार्तामा फर्कन आह्वान गरेको छ। राष्ट्रपति रइसीले देशमाथि लागेका प्रतिबन्ध अन्त्यका लागि गरिने कूटनीतिक पहललाई समर्थन गर्ने सङ्केत गरेकै बखत अमेरिकाले यस्तो आह्वान गरेको हो।





























प्रतिक्रिया