कीर्तिमान स्तरमा २ हजार १८ किलोमिटर उडेर लन्डनबाट रुस पुगेको एउटा चमेरो बिरालोको आक्रमणमा मारिएको छ।
मान्छेको बूढीऔँला आकारको नाथुसिअस पिपिस्ट्रेल पोथी चमेरो रुसको पस्कोफ क्षेत्रमा देखिएको थियो।
पखेटामा लन्डन चिडियाखानाको सङ्केत चिह्न भएको उक्त चमेरोलाई एउटा पुनर्स्थापना समूहले उद्धार गर्यो, तर पछि चमेरो मर्यो। ब्रिटेनबाट कुनै पनि चमेरोले युरोपमा सबैभन्दा लामो यात्रा गरेको यो नै भएको छ।
त्यसले ब्रिटेनको अभिलेखमा रहेका सबै कीर्तिमानलाई भङ्ग गरेको छ। आठ ग्राम तौल भएको नाथुसिअस पिपिस्ट्रेल चमेरोलाई रुसको एउटा सानो गाउँ मोल्गिनोकी बासिन्दा स्भेट्लाना लापिनाले फेला पारेकी थिइन्।
चमेरो फेला परेको घटनाबारे यूकेस्थित ब्याट कन्जरभेशन ट्रस्टलाई जानकारी गराइयो।
ट्रस्टस्थित संरक्षण सेवा प्रमुख लिसा वर्लेजले भनिन्: "यो एकदमै उल्लेखनीय यात्रा हो र हामीलाई थाहा भएसम्म ब्रिटेनबाट युरोपमा कुनै चमेरोले गरेको सबैभन्दा लामो यात्रा पनि हो। कस्तो असाधारण!"
"तिनको यात्रा एउटा चाखलाग्दो वैज्ञानिक खोज हो र चराहरूको बसाइँसराइको अर्को हिस्सा हो। यूकेभित्र तथा यूके र महादेशबीच नाथुसिअस पिपिस्ट्रेल चमेराहरूको गतिविधि रहस्यमय रहँदै आएको छ।"
सन् २०१९ मा त्यो चमेरोले लाट्भिआबाट स्पेनसम्म २ हजार २२४ किलोमिटर यात्रा गरेर कीर्तिमान बनाएको थियो। नाथुसिअस पिपिस्ट्रेल चमेराहरूको बढ्दो बसाइँसराइ जलवायु परिवर्तनसँग जोडिएको बताइन्छ।
थप हुने जलवायु परिवर्तनले ती प्रजातिहरूलाई थप असर पुर्याउनेछ। यूकेमा २ हजार ६०० भन्दा बढी नाथुसिअस पिपिस्ट्रेल चमेराहरूकाे तथ्याङ्क रहेको बिबिसिले जनाएकाे छ ।





























प्रतिक्रिया