संसारकै दोस्राे लामाे निर्माणाधीन जिपलाइन दसैंअघि नै सञ्चालनमा आउने

संसारकै दोस्राे लामाे निर्माणाधीन जिपलाइन दसैंअघि नै सञ्चालनमा आउने

केन्द्रबिन्दु
0
Shares

पर्वत सदरमुकाम कुश्माबजारमा निर्माणाधीन जिपलाइन आगामी दसैंसम्म सञ्चालनमा आउने भएको छ। पर्वतका सात जना युवा व्यवसायीको करिब १३ करोड रुपैयाँ लगानीमा निर्माणाधीन जिपलाइन विश्वकै दोस्रो लामो दाबी गरिएको छ।

जिपलाइन निर्माणको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रालिका निर्देशक राजकुमार बस्नेतले बताए। दसैंसम्ममा सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको उनले बताए। साहसिक पर्यटनको विकासका लागि यो जिपलाइन पनि महत्त्वपूर्ण हुने उनको दाबी छ। 

आगामी १५ दिनभित्र जिपलाइनको परीक्षण गर्ने तयारी गरिएको बस्नेतले बताए। यस्तै, आगामी छ महिनाभित्र रिसोर्ट, ह्युमन सिलिङसट र स्वीमिङ पुल निर्माणको काम सकिने उनको भनाइ छ।

यसैगरी हार्नेश जिपलाइनले पर्वत जिल्लालाई साहसिक खेलको जिल्लाकै रूपमा परिचित गराउन र मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई पर्वतमा बस्नै मन लाग्ने बनाउनका लागि कालीगण्डकी नदीमा जेटस्की (वाटर बाइक) समेत सञ्चालन गर्ने योजना बनाएको छ। कम्पनीका अध्यक्ष विदुर पौड्यालले पोखराबाट स्थलमार्ग हुँदै धेरै पयर्टक मुस्ताङसम्म जाने गरेको भए पनि उनीहरू पर्वतका पर्यटकीय गन्तव्यस्थलमा नपुग्दा जिल्लामा पर्यटकीय विकास हुन नसकेको उनले बताए। 

कुश्मा नगरपालिका–५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म १४ सय मिटरको दूरीमा जिपलाइन बनाउन थालिएको हो। 

Logo