अब एमालेकाे महाधिवेशनमा प्यानल बनाउन नपाइने

अब एमालेकाे महाधिवेशनमा प्यानल बनाउन नपाइने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)को महाविधेशनमा अब प्यानल बनाउन नपाइने भएको छ। केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्तावलाई पारित गर्दै अबदेखि हुने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दा निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने व्यवस्था गरेको छ। 

यसअघि पार्टीको आठौँ र नवौँ महाविधेशनमा प्यानलगत रुपमा उम्मेदवारी दर्ता गराएर निर्वाचन भएको थियो। यसले गर्दा महाधिवेशनमा गुटगत अन्त्य हुनेछ। पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पारित गरिएको विधानमा अध्यक्ष र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने व्यवस्था राखिएको जानकारी दिए। संशोधित नयाँ विधानमा अन्य पदाधिकारी कमिटीले निर्वाचित गर्नेछ। 

उनका अनुसार अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, उपमहासचिव दुई र सचिव सात जनाको व्यवस्था गरिएको छ। नवौँ महाविधेशनमा अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव दुई र सचिव पाँच रहेका थिए। पदाधिकारी समावेशिताको व्यवस्था तोके बमोजिम हुने कुरा नयाँ संशोधित विधानमा उल्लेख छ। 

यस्तै पार्टीले सबै तहका पार्टी कमिटी, आयोग वा परिषद्मा न्यूनतम ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चि गर्ने व्यवस्था विधानमा उल्लेख गरिएको छ। हालको केन्द्रीय कमिटीबाट केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढाएर २२५ कायम गर्ने भनिएको छ। 

केन्द्रीय कमिटीमा वैकल्पिक सदस्यको व्यवस्था हटाउने र केन्द्रीय कमिटीले मनोनित गर्न सक्ने केन्द्रीय कमिटीको सदस्य सङ्ख्या बढीमा १० प्रतिशत कायम गर्ने संशोधित विधानमा उल्लेख छ। पोलिटब्यूरोको व्यवस्था हटाउने र केन्द्रीय कमिटीअन्तर्गत ३५ सदस्यीय स्थायी कमिटी गठन गर्ने नयाँ विधानमा रहेको पार्टी कार्यालय सचिव तामाङले जानकारी दिए। 

राजनीतिक तथा सङ्गठनात्मक कामको नेतृत्व गर्न अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय र प्रशासनिक तथा व्यवस्थापकीय कामको नेतृत्व गर्न महासचिवको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गर्ने व्यवस्था गरिएको छ। प्रदेश र जिल्ला कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवको व्यवस्था गरिएको छ।

Skip This
Skip This
Logo