प्रदेश २ का आठ जिल्लामा परिवार दलको राहत सहयोग, एक हजार बढी परिवार लाभान्वित

प्रदेश २ का आठ जिल्लामा परिवार दलको राहत सहयोग, एक हजार बढी परिवार लाभान्वित

केन्द्रबिन्दु
0
Shares

वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा नेपाली राजनीतिकमा चिनिएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मानवता सबैभन्दा ठूलो धर्म भएको बताएका छन्।  

प्रदेश  नम्बर २ का आठ वटै जिल्लाको भ्रमणमा रहेका ढकालले सिरहा जिल्लाको गोलबजारमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा बोल्दै नेपाल एक बहुसांस्कृतिक तथा बिबिधतायुक्त मुलुक रहेको बताउँदै आपसी सदभाव, सह–सम्मान र सह–अस्तित्वले नै नेपाली राष्ट्रियता बलियो हुने जिकिर गरे।

अध्यक्ष ढकालले कोभिड–१९ पीडित गरिब तथा असहाय विभिन्न व्यक्तिहरुलाई राहतस्वरूप खाधान्य सामग्री पनि हस्तान्तरण गरे। मानव अधिकारकर्मी श्यामकुमारी शाह तथा उत्तिम लाल मेमोरियल अस्पतालकी डाक्टर सुशीला सिंहले उपलब्ध खाध्य सामग्रीले मधेशका अति विपन्न परिवारलाई ठूलो राहत मिलेको भन्दै धन्यवाद दिइन्। 

परिवार दलका  प्रवक्ता सन्तोष पौडेलका अनुसार विभिन्न सामाजिक संघ संथाहरुको सहयोगमा प्रदेश नम्बर २ को सबै जिल्लामा राहत सामग्री अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सफलतापूर्वक वितरण गरिएको जानकारी दिए। राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकाय, मानवअधिकारकर्मी तथा नागरिक अगुवाहरुको पनि उपस्थिति रहेको थियो। 

राहत सामग्री हस्तान्तरण गर्न नेता ढकाल पर्साको बाइपास रोड, वाराको कलैया, रौतहटको बरुडा, सर्लाहीको नवलपुर, धनुषाको गोदार र ठेराकचुरी, महोत्तरीको मटिहानी, सिरहाको लाहन, सप्तरीको महुवा बेलही र राजविराज पुगेका थिए। दलका प्रवक्ता पौडेलका अनुसार करिब १ हजार घरपरिवारलाई एक महिनालाई पुग्ने गरि राहत उपलब्ध गरिएको बताए। परिवार दलले राहत वितरणमा सहयोग गर्नु हुने स्थानीय प्रशासन, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था तथा स्थानीयहरुमा धन्यवाद ज्ञापन गरेको छ।

दलले यसअघि पनि देशैभरी हजारौंको संख्यामा राहत बितरण गरेको थियो भने फन्टलाइनमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो।

Logo