नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्रका विभिन्न चुनौतीलाई स्वीकार गरेर फेरि आएको बताएका छन्। बुधबार कार्यकारी निर्देशकको पदबहाली गरेलगत्तै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्।
‘मन्त्रिपरिषद्ले चार वर्षका लागि फेरि नियुक्त गरेको छ, मसँग यसअघिको पनि अनुभव छ। विभिन्न चुनौतीलाई स्वीकार गरेर केही गर्नका लागि आएको हुँ,’ उनले भने। प्राधिकरणको व्यवस्थापनलाई चुस्त बनाउनेमा आफू केन्द्रित रहने उनले उल्लेख गरे।
घिसिङले आमजनताबाट अपार माया पाएको जनाउँदै आफ्नो दोस्रो कार्यकालमा टिमवर्कका आधारमा काम गर्ने बताए। ‘सबै मिलेर अगाडि बढ्नुपर्छ, योङ कर्मचारीको टिम बनाएर अगाडि बढ्छु। सरकारले दिएको जिम्मेवारी कुशलता साथ निर्वाह गर्छु,’ उनले भने।
दुई–चार महिना मिडियामा नआउने र कुराभन्दा पनि कामलाई प्राथमिकतामा राख्ने उनको धारणा छ। ‘प्राधिकरणको मिटर बिलिङ सिस्टमलाई चुस्त बनाउने, गुणस्तरीय विद्युत सेवा दिने, सुशासन, देशभर स्मार्ट मिटर विस्तार गर्ने, अन्डरग्राउन्ड विद्युतीकरण, ट्रान्समिसन योजनाका समस्या समाधानलगायत काम गर्नेछु,’ उनले योजना सुनाए। गोरखपुरको ट्रान्समिसन लाइन अगाडि बढाउने उनले सुनाए।
‘नेपालको पानी, जनताको लगानी’ अवधारणाका आधारमा जलविद्युतमा नेपालको लगानी बढाउने खालका योजना अगाडि ल्याउने उनले बताए। प्राधिकरणका कर्मचारीसँग सम्बन्धित विभिन्न समस्या भएकाले तिनीहरुलाई समाधान गरेर अगाडि बढ्ने उनले स्पष्ट पारे।





























प्रतिक्रिया