आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि विद्युतीय राहदानी नेपालमा औपचारिकरूपमा प्रचलनमा आउने भएको छ। विद्युतीय राहदानी प्रचलनमा ल्याउनुअघि त्यसको परीक्षणको तयारी भइरहेको परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले जनाएको छ।
आउँदो अक्टोबरको अन्तिम सातादेखि तीन महिनाको परीक्षणकाल सुरु गर्ने योजना विभागले अघि सारेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परीक्षणकाल सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी छ।
गत वर्षको सेप्टेम्बर महिनामा फ्रेन्च कम्पनी फ्रान्सको आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएएस कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादनको कामलाई तीव्रता दिइएको विभागका अर्यालले जानकारी दिए। गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानी निर्माणका लागि भएको थियो।
उनका अनुसार पहिलो चरणमा २० लाख थान विद्युतीय राहदानी छापिनेछ। नेपाल सरकारले पासपोर्टको डिजाइनलाई स्वीकृति दिइसकेकाले पनि अब छपाइ हुने औपचारिकता मात्र बाँकी रहेको छ। जसको प्रिन्ट भने नेपालमै गर्ने गरी आवश्यक प्राविधिक तयारी भइरहेको छ।
विश्वकै राहदानीको पुस्तामा आईएसओ १९०३ मान्यताप्राप्त तेस्रो जेनेरेसनको राहदानीका रूपमा विद्युतीय राहदानीलाई चिनिन्छ। यस राहदानीको पोलिकार्बोनेट पानाभित्र सुरक्षित चिप्स जडान गरिएको हुन्छ। जसमा व्यक्तिको विभिन्न विवरण सुरक्षित हुन्छ। जसका कारण पनि विद्युतीय राहदानी अत्यधिक सुरक्षित र भरपर्दो मानिएको महानिर्देशक अर्यालले औँल्याए।गाेरखापत्रबाट





























प्रतिक्रिया