ललितपुर महानगरपालिकाले कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ।
महानगरले कोरोना संक्रमण भएर अस्पताल, आइसोलेसन सेन्टर वा अन्य ठाउँमा मृत्यु भएका वा संक्रमणमुक्त भएका तर डिस्चार्ज नहुँदै उपचारका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई राहत दिने भएको हो ।
महानगरले ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोगसम्बन्धी निर्देशिका–२०७८’ का केही व्यवस्थाहरु द्विविधा उत्पन्न भएको भन्दै थप स्पष्ट पारेको छ।
महानगरपालिकाले बिहीबार विज्ञप्ति निकालेर कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदान गरिने उपचार तथा राहत सहयोगबारे थप स्पष्ट पारेको हो ।
कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थाको आईसीयू वा भेन्टिलेटरमा उपचार गराएका नगरवासीलाई उपचार खर्च तथा राहतवापत ६० हजार रुपैयाँ उपलब्ध गराउने निर्देशिकामा उल्लेख छ।
यस्तै संक्रमण पुष्टि भएर अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भएर सामान्य उपचार गराई संक्रमणमुक्त भएका व्यक्तिलाई पनि अस्पतालको बिलको आधारमा बढीमा ३० हजार रुपैयाँ राहत पाउने पनि जनाएको छ।
उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि संक्रमित व्यक्ति अस्पताल वा स्वास्थ्य संस्थामा भर्ना भई उपचार गरेको हुनुपर्नेछ। २०७७ साउन १ गते पश्चात कोरोना संक्रमित भएका महानगरपालिकाका स्थायी नागरिकले मात्रै यो सहयोग प्राप्त गर्नेछन्।
उपचार तथा राहत सहयोग प्राप्त गर्नका लागि ०७८ असार ६ गतेभन्दा अगाडि संक्रमित भएका व्यक्तिको हकमा ६० दिनभित्र पेश गर्नुपर्नेछ।































प्रतिक्रिया