निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक अवस्था ठीक नभएको भनेर माओवादी केन्द्रका सांसद मातृकाप्रसाद यादवले संसदमा बिहीबार विवादित टिप्पणी गरेका थिए।
सोही टिप्पणीलाई लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बिहीबार नै आपत्ति जनाएका थिए। उनले उक्त भनाइ संसद सचिवालयको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए तर, समाभुख अग्निप्रसाद सापकोटाले हटाउन रुलिङ गरेका थिएनन्।
शुक्रबारको बैठकमा पनि सचेतक भट्टराईले सोही कुरा उठान गरे। भट्टराईले बैठकमा माओवादी केन्द्रका नेता यादवको भनाइ रेकडबाट हटाउन रुलिङ गर्न आज पनि अनुरोध गरे । त्यसैलाई आधार मानेर सभामुख सापकोटाले उक्त भनाइ रेकर्डबाट हटाउन रुलिङ गरेका छन्।
यादवले बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा केपी ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट’ हुनुहुन्न भन्ने अभिव्यक्ति दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईले तत्कालै नियमापत्ति गरेका थिए।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले ओलीमाथि गम्भीर आरोप लगाएका थिए।
ओलीसहितका एमाले सांसदहरुले दोस्रो पटक पुनःस्थापित संसद र शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशबाट आएको बताइरहेका बेला यादवले आक्रोश पोखेका थिए।
‘जे पनि बोल्न पाइन्छ यहाँ? मैले एउटै पार्टी (नेकपा) हुँदा भनेको थिएँ’, उनले नेकपा हुँदै प्रचण्डलाई दिएको सुझावबारे भनेका थिए, ‘उहाँ (केपी शर्मा ओली) चाहिँ मानसिक र भौतिकरुपमा ठीक हुनुहुन्न, कुनै बेला दुर्घटना हुन सक्छ।’
यादवले ओलीको अवस्था मानसिक र भौतिक रुपमा ठीक नभएकाले नेकपा र सरकारको बोझ बोकाउन ठीक नहुने कुरा आफूले उतिबेलै बताएको स्मरण गरेका थिए।
‘ओलीको दुवै अवस्था ठीक छैन, यो बोझ किन बोकाउने? जहाज उडाउँदा मेडिकल चेक हुन्छ’, उनले भने, ‘यस्तो मान्छेलाई देशकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन? पार्टीकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन?’
उनले ओलीकै कारण लगभग दुईतिहाइको कम्युनिष्ट सरकार ढलेर गठबन्धनको सरकार बनेको बताएका थिए।
‘यो गठबन्धन अप्राकृतिक अनुचित अपवित्र रे! आन्दोलनमा पनि गठबन्धनबाट भएको हो’, उनले भनेका थिए, ‘जसले संसद विघटन गरे उही आएर बोल्छन्, सानले फेरि। सुगा रटान जस्तो परमादेश परमादेश परमादेश। जसको दिमाग बिग्रिएको छ, उसले भन्छ परमादेश, सबैको त बिग्रिएको छैन नि!’





























प्रतिक्रिया