साहित्यकार भोजराज घिमिरेको उपन्यास ‘इन्द्रमाया’ बिमाेचन

साहित्यकार भोजराज घिमिरेको उपन्यास ‘इन्द्रमाया’ बिमाेचन

केन्द्रबिन्दु
0
Shares

भोजराज घिमिरेको पहिलो उपन्यास “इन्द्रमाया” जूममा भर्चुअल रूपमा सार्वजनिक गरिएको छ। कवि तथा गीतकार डा. विमल कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, नेपाल एकेडेमीका कुलपति श्री गङ्गाप्रसाद उप्रेतीले उक्त कृतिको विमोचन गरेका थिए। 

समीक्षकहरू एलबी क्षेत्री, साधना प्रतीक्षा, घनेन्द्र ओझा र महेश पौड्यालले उक्त उपन्यासको समीक्षा गर्दै उपन्यासकार घिमिरेले बीपी कोइरालाको “तीन घुम्ती“ की पात्रलाई लिएर गरेको यस कामलाई साहसी कामको संज्ञा दिएका थिए। इन्द्रमायालाई नेपाली उपन्यासका नारी चरित्रको रूपमा सबैभन्दा साहसी महिला पात्र भनेर चिनिन्छ। 

घिमिरेको “इन्द्रमाया“  बीपी कोइरालाको प्रसिद्ध उपन्यास “तीन घुम्ती“ को पुनर्पठन हो, जहाँ इन्द्रमाया उपन्यासकी नायिका हुन्। बीपी कोइरालाले इन्द्रमायालाई एक विद्रोही नेवारी महिलाको रूपमा देखाएका छन्। राजनीतिक विद्रोही पीताम्बरसँग इन्द्रमायाले आमा बुबाको सहमति विपरित विवाह गर्छिन्। विवाहपछिको जीवनमा, उनका पतिले उनी बन्ध्या रहेकोले बच्चा जन्माउन नसकेको आरोप लगाउँछन्। उनले आफू बाँझो छैनँ भनेर प्रमाणित गर्नका लागि पीताम्बरको साथी रमेशसँग यौन सम्बन्ध राखेर एक छोरी जन्माउँछिन् । यसपछि रमेश उपन्यासको दृश्यबाट हराउँछ । यता पीताम्बरले इन्द्रमायालाई कि झोरी त्याग, कि प्रेम त्यागभन्दा उनी छोरी च्यापेर घरबाट निस्कन्छिन्। इन्द्रमायाले घरबाहिर नै रहेर छोरी हुर्काउँछिन्। 

घिमिरेको “इन्द्रमाया” त्यहाँबाट सुरू हुन्छ जब इन्द्रमाया घर छोडेर एक मन्दिरमा शरण लिन्छिन्। यस उपन्यासले एक्ली महिलाको सङ्घर्षले जीवनमा सफलता प्राप्त गरेको सङ्घर्षकथा देखाउँछ र, जटिल मानव सम्बन्ध, पुरुष र महिला अधिकार, असन्तुलित लैङ्गिक समीकरण, सामाजिक आदर्श, मानव अधिकार र स्वतन्त्रतामा बहसको आग्रह गर्दछ।

समारोहमा बोल्दै उपन्यासकार घिमिरेले आफू  बीपी कोइरालाकी पात्र इन्द्रमायाबाट धेरै प्रभावित भएको बताए। उनले उपन्यासपछि आफ्नो पतिको घर छाडेकी इन्द्रमायाले कसरी जीवन बिताइरहेकी थिइन् भनेर खोज्न चाहेको र बीपी कोइरालाले आफ्नो तीन घुम्तीमा छोडेका कतिपय रिक्तताको जवाफ खोज्नको लागि यो काम गरेको व्याख्या गरे।

त्यसैगरी कार्यक्रमका प्रमुख अथिति गङ्गाप्रसाद उप्रेतीले उपन्यासको कथा प्रविधि र लेखकले पात्र चयनमा देखाएको को चलाखीको खुलेर प्रशंसा गरेका थिए। महेश कार्की क्षितिजले सञ्चालन गरेको उक्त कार्यक्रमा दर्जनौँ मान्छेको उपस्थिति रहेको थियो। शिखा बुक्सले प्रकाशनले गरेको उक्त उपन्यासको मूल्य ४९९ रूपैंयाँ रहेको छ।

Skip This
Skip This
Logo