नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी गम्भीर मोडमा उभिएको बताएका छन्।
आफू पक्षीय बागमती प्रदेश सम्पर्क संगठन कमिटीको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनले पार्टी एकता र विभाजनको दोबाटोमा उभिएको बताएका हुन्। नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्न चाहेको आरोपसमेत लगाए।
‘हाम्रो पार्टी गम्भीर मोडमा उभिएको छ। एकता र विभाजनको दोबाटोमा उभिएको छ,’ नेता नेपालले भने, ‘हामी एकता चाहिरहेका छौं। पार्टीको अध्यक्षको हैसियतले अहिलेसम्म केपी ओली विभाजन चाहिरहनुभएको छ।’
अध्यक्ष ओलीको विभाजनकारी प्रवृत्ति प्रत्येक घटनाहरुमा देखा परेको उनको दाबी थियो। नेता नेपालले पार्टीको विधिमा बाँध्न खोज्दा ओलीलाई विधि–पद्धति मन नपरेको पनि बताए।
‘उहाँलाई जब जब आलोचना गरियो, उहाँलाई पार्टीको विधिमा बाँध्न खोजियो’, उनले भने, ’सरकारको कामलाई राम्ररी गर्नुहोस् भनेर सुझाव दिइयो। उहाँलाई सुझाव मन परेन, विधि पद्धति मन परेन।’
नेता नेपालले जनताको बहुदलीय जनवाद (जबज) ले कार्यकर्ताको कुरा सुन्न, कमजोरी स्वीकार्न, जनताका आवाज सुन्न सिकाएको पनि स्मरण गरे।
‘जबजले के भन्छ, लोकतन्त्रको अभ्यास गर भन्छ, कार्यकर्ताको कुरा सुन भन्छ, गल्ती कमजोरी स्वीकार गर भन्छ,’ उनले भने, ’जनताका पीडा बेदना बुझ, जनताले के भन्छ सुन भन्छ।’
नेता नेपालले एमालेमा आफू र ओलीको झगडा मात्रै नठान्न पनि आग्रह गरे। ‘एमालेमा हमी दुई नेताको मात्रै झगडा होइन’, उनले भने, ‘दुई नेताको झगडा हो भने पार्टीका स्थायी कमिटी सदस्यले किन दुवै पदबाट राजीनामा मागेको त?’
ओलीलाई पटक पटक सुधार्न खोज्दा पनि सुधार नआएको नेपालले बताए। ‘हामीले पटक पटक कोसिस गर्दा पनि उहाँमा सुधार भएको भए त बेग्लै कुरा’, उनले भने, ‘ओलीमा सुधार भएको र व्यवहारमा परिवर्तन भएको भएको तपाईंहरुलाई थाहा छ? म त त्यस्तो देख्दिनँ।’
उनले ओलीमा सुधारको गुन्जायस नदेखिएको पनि बताए। ‘माधव नेपाल जस्तालाई यो पार्टीमा ठाउँ छैन भनेको के हो?’, उनले सोधे, ‘एक एक शब्द हेर्ने हो भने उहाँको स्तर र कल्चरल लेभल बताउँछ। उहाँ कुन तहसम्ममा मान्छेलाई लान्छित गर्न सक्नुहुन्छ, त्यो देखाइरहेको छ।’





























प्रतिक्रिया