१३ वर्ष जापान बसेर स्वदेश फर्किएका प्रकाश बुढाथोकीले आफ्नै मुलुकमा केही गर्ने भन्दै पछिल्लो समय कालिज पालनमा व्यस्त भएका छन्। गतवर्ष एक करोड लगानीबाट सुरु गरेको कालिज पालनबाट पहिलो वर्षमा नै २० लाख आम्दानी गरेपछि त झन उनको खुसीको सीमा छैन।
आफूसहित अन्य चार जना लगानीकर्ताको लगानीबाट सुरु गरेको व्यवसाय अहिले पहिलो वर्षनै राम्रो आम्दानी गरेपछि साथीहरू पनि ऊर्जा बढेको र अर्को वर्ष २० हजार काजिल संख्या पुर्याउने योजनामा रहेको बुढाथोकीले केन्द्रबिन्दुसँग भने।
बनेपा नगरपालिका अन्तर्गत १३ नम्बर वडा साँगा भंगालमा ४७ रोपनीमा रहेको उनको फार्ममा अहिले पनि ६ हजार वटा कालिज छन्।
बिक्री गर्न तयारी अवस्थामा रहेका ६ हजार कालिजबाट ५० लाख आम्दानी गर्ने बुढाथोकीको लक्ष्य रहेको छ ।
प्रतिओटा १५ सयसम्म पर्ने एक दिनको चल्ला खरिदबाट सुरु गरेको व्यवसायीक पंक्षी पालान सुरुमा खर्च बढी भएपनि घाटा भने नलाग्ने उनको दाबी छ। ‘चल्ला महंगो भए अनुसार कालिज पनि प्रतिओटा ३ हजारदेखि ३५ सयसम्ममा बिक्री हुने हुँदा लगानी सुरक्षित हुन्छ’ बुढाथोकीले भने।
पछिल्लो समय कालिज पालनमा युवाहरूको ध्यान तानिदो छ । ज्ञान र सिपको अभावमा ठूलो लगानी गर्दा फसिने डर भएपनि यसबारे ज्ञान भए राम्रो आम्दानीको स्रोत बन्ने हुँदा विशेषगरि विदेशबाट फर्किएका युवाहरू कालिज पालनप्रति आकर्षित बन्दै गएका हुन्।
बुढाथोकी थप्छन्, ‘कालिजको बजारमा माग बढी छ, उत्पादन भने कम छ, अझै केही वर्ष यसबाट राम्रो मुनाफा कमाउन सकिन्छ।’
तथापी स्थानीय सरकारले ध्यान नदिएको उनले जानकारी दिए। बनेपा नगरपालिकाले कृषिमा राम्रो योजना ल्याउने भनेपनि आफू जस्ता किसानहरू भने अझै पनि स्थानिय तहको नजरमा नरहेको उनको दुखेसो छ।
यता बागमती प्रदेशले भने सहयोग गर्ने आश्वासन दिएको उनले बताए। प्रदेशका कृषि मन्त्री दावा लामाले कृषिकर्ममा लागेकाहरूलाई प्रदेशले हेर्ने भन्दै आफ्नो फार्म पनि निरिक्षण गरेको उनले बताए।
कालिन्चोक एग्रो वाईल्ड एण्ड रिर्सच प्रालि नाम गरेर संचालनमा आएको उक्त फार्ममा अहिले पनि कालिज बाहेक टर्कि, लुइँचे, बट्टाई, कडकनाथ, फईटर कुखुरा लगायतको प्रजाति रहेको बुढाथोकीले केन्द्रबिन्दुलाई जानकारी दिए।





























प्रतिक्रिया