काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रदेश नम्बर ५ को स्थायी राजधानी बनाउँदा मध्यमार्गी बाटो खोज्नुपर्नेमा जोड दिएका छन् । सोमबार ट्वीट गर्दै नेता गुरुङले बुटवलबासीको आन्दोलित भावनालाई चुनौती दिनुभन्दा मध्यमार्गी बाटो खोज्नुपर्नेमा जोड दिएका हुन् ।
बुटवलबासीको जनभावना जोडिएको विषयमा नेकपाले प्रस्तावको पक्षमा ह्वीप लादेर विवेकलाई बन्धक बनाएर राजधानी बनाउनु अलोकतान्त्रिक हुने उनको भनाइ छ । ‘प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावलाई भौगोलिक रुपमा मैले सकरात्मक भनेको थिएँ । तर जनभावना जोडिएको विषयमा नेकपाले प्रस्तावको पक्षमा ह्वीप लादेर विवेकलाई बन्धक बनाएर राजधानी बनाउनु लोकतान्त्रिक हुँदैन’–उनले ट्वीटमा भनेका छन्–‘बुटवलबासीको आन्दोलित भावनालाई चुनौती दिनु भन्दा मध्यमार्गी बाटो पहिल्याउने कि ।’
प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ जिल्लाकोे देउखुरीमा राख्न प्रदेश सभामा गत शुक्रबार प्रस्ताव दर्ता गराएको थियो । शुक्रबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए । प्रदेश सरकारले एकलौटी रुपमा प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेपछि बुटवलबासी आन्दोलित बनेका छन् । सोमबार दिउँसो बसेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक विपक्षी दलका सांसदहरुले विरोध गरेपछि तत्कालका लागि स्थगित भएको छ ।
































प्रतिक्रिया