महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका– २, बुङमती घर भई हाल जोरपाटी बस्ने वर्ष ४६ को प्रेम तुलाधर र खोटाङ ऐंशेलुखर्क गाउँपालिका– ६ घर भई हाल मूलपानी बस्ने बर्ष ३१ की कल्पना दाहाल रहेका छन् ।
यातायात कार्यालयहरूबाट जारी गरिने सवारी चालक अनुमतिपत्रका नगदी रसिदहरू केही व्यक्तिहरुले सरकारी कागजात दस्तखत किर्ते गरी रकम लिने गरेको भन्ने बिशेष सूचनाका आधारमा ट्राफिक प्रहरीले उनीहरूलाई कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीस्थित राइजिङ एक्सपोर्ट ड्राईभिङ सेन्टरबाट पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
तुलाधरले आफ्नै नाममा रहेको सवारी चालक अनुमति पत्रको नक्कली नगदी रसिद ट्राफिक प्रहरीको चेकिङ्गमा दिएको थिए । तुलाधर पक्राउ परेपछि उनकै बयानका आधारमा ट्राफिक प्रहरीले दाहाललाई मूलपानीबाट नियन्त्रणमा लिएको थियो । दाहालको साथबाट पनि नक्कली नगदी रसिद बरामद गरेको छ ।
ट्राफिक प्रहरीअनुसार उनीहरूले दर्जनौ व्यक्तिसँग रकम लिएर नक्कली लाईसेन्स रसिद दिई किर्ते ठगी गर्ने काम गर्दै आएका थिए । पक्राउ परेका दुवैलाई थप कारबाहीको लागी प्रहरी बृत्त, सिंहदरवारमा बुझाइएको ट्राफिक महाशाखाले जनाएको छ ।































प्रतिक्रिया