अफगानिस्तानमा तालिबान विद्रोहीले आइतबार राजधानी काबुल नियन्त्रण लिएपछि जितको घोषणा गरेका छन्। अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर उज्बेकिस्तानको राजधानी तासकन्द पुगेका छन्।
काबुलस्थित राष्ट्रपति भवन, सुरक्षा निकायका मुख्यालय र अन्य प्रशासनिक कार्यालय तालिबानको पूर्ण नियन्त्रणमा छन्। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र अमेरिकी सेनाको उपस्थिति छ। स्वदेश फर्कने मानिसहरूको भीडले काबुल अन्तर्राष्ट्रिय विमानस्थल तहसनहस भएको छ।
यसै साता बाहिरिएको एउटा अमेरिकी गुप्तचर निकायको रिपोर्टले तालिबानले अफगानिस्तानको राजधानी काबुलमाथि केही दिनमै नियन्त्रण राख्ने उल्लेख गरेको थियो।
सन् २०२१ अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा गरेका थिए। अफगानिस्तानी अधिकारीले अन्तर्राष्ट्रिय समुदायको सहयोग विना तालिवानसँग अफगानी सरकार लड्न नसक्ने बताएको भए पनि अमेरिकी राष्ट्रपतिले अमेरिकी फौज अफगानिस्तानबाट फिर्ता हुने बताएका थिए।
त्यसपछि मे महिनाबाट अमेरिकी सेनाको फिर्ती सुरु भएको थियो। यही सेप्टेम्बरसम्ममा अफगानिस्तानबाट अमेरिकाले सबै सेना फिर्ता लैजाने योजना तय गरेको थियो।
आफ्ना सेना फिर्ता गर्ने अमेरिकी घोषणासँगै तालिबान विद्रोहीले मुलुकका विभिन्न भागमा आक्रमणलाई तीव्र पारेका थिए। त्यसपछि छोटो समयमै तालिबानले मुलुकका विभिन्न प्रान्तमा पकड राख्न सफल भएको थियो।
त्यही बीच तालिबानले मे महिनामा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण गरे। त्यसपछि अन्य प्रान्तमा पनि आक्रमणको सुरु गरेका थिए।
जुन महिनामा तालिबानले अफगानिस्तानका ३ सय ७० जिल्लामध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष विशेष दूतले उल्लेख गरेका थिए। त्यसपछि अफगानिस्तानको उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण जारी राखेको थियो।
२१ जुलाईमा १ सय ८५ जिल्ला तालिबानको नियन्त्रणमा गएको एक वरिष्ठ अमेरिकी जेनरलले उल्लेख गरेका थिए। त्यसपछि तालिबानले आफ्नो शक्ति बढाउँदै लगेका थिए।
६ अगस्ट, सन् २०२१ मा तालिबान लडाकुले जारान्ज प्रान्तलाई नियन्त्रणमा लिएका थिए, जुन तालिबानको कब्जामा गएको पहिलो प्रान्त हो। त्यसपछि, १३ अगस्टमा दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा गयो।
सन् २०२१ अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा गरेका थिए। अफगानिस्तानी अधिकारीले अन्तर्राष्ट्रिय समुदायको सहयोग विना तालिवानसँग अफगानी सरकार लड्न नसक्ने बताएको भए पनि अमेरिकी राष्ट्रपतिले अमेरिकी फौज अफगानिस्तानबाट फिर्ता हुने बताएका थिए।
१४ अगस्टमा तालिबानले उत्तरी सहर मजार-ए-शरिफमाथि नियन्त्रण जमाएका थिए। १५ अगस्टमा युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा गयो। त्यही दिन अफगानी राष्ट्रपति असरफ घानी देश छाडेर उज्बेकिस्तानको राजधानी तासकन्द गए। राष्ट्रपति भवनमा तालिबान लडाकुहरू प्रवेश गरेर सबै कागजात नियन्त्रणमा लिएका छन्। यसरी दुई दशकपछि तालिबान विद्रोही अफगानिस्तानको सत्तामा आएका छन्।
कसरी जन्मियो ‘तालिवान’?
पास्तो भाषामा तालिबानको अर्थ हुन्छ ‘विद्यार्थी’। सन् १९९० को दशकमा अफगानिस्तानबाट सोभियत संघको सेना फिर्ता भएसँगै एक समूहको जन्म भयो, जसको नाम राखियो-तालिबान। अफगानिस्तान र पाकिस्तानमा फैलिएको पास्तुन क्षेत्रमा तालिवानले आफू सत्तामा आए आफ्नै कडा ‘शारिया’ (मुस्लिम कानुन) लागू गरेर शान्ति र सुरक्षाको पुनस्र्थापना गर्ने आश्वासन दिएर आफ्नो यात्रा सुरु गरे।
अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रबाट द्रुत गतिमा तालिवानले आफ्नो प्रभाव बढाउँदै लग्यो। सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानको सीमासँग जोडिएको हेरात प्रान्तमा कब्जा जमाए। त्यसको एक वर्षपछि तालिवानले सोभियत अतिक्रमणको प्रतिवाद गरेको मुजाहिद्दिन समूहका संस्थापक एवं राष्ट्रपति बुह्रानुद्दिन रब्बानीको सरकारलाई अपदस्थ गर्दै अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमायो। सन् १९९८ सम्ममा तालिबानले अफगानिस्तानको ९० प्रतिशत भूभागमा कब्जा जमाइसकेको थियो।
मुजहिद्दिन समूहको अत्याचार र सोभियतहरू फिर्ता भएपछिको किचलोबाट आजित अफगानिस्तानका नागरिकले तालिवानको आगमनको स्वागत गरेका थिए।
तालिवानको सुरुआती लोकप्रियताका पछाडि उसको भ्रष्टाचारविरोधी अभियान, दण्डहीनताको न्यूनीकरण र व्यापार प्रवर्द्धनका लागि सडकमा कायम गरेको शान्ति सुरक्षा रहेको थियो।
तर, शारिया कानुनको खरो व्याख्यामा आधारित सजायको पक्षमा पनि तालिबान रहेको थियो। यस्ता सजायमा हत्यारा र गैरवैवाहिक यौनसम्पर्कमा संलग्नलाई सार्वजनिक स्थलमा फाँसी दिने र चोरीमा संलग्नलाई अंगभंग गर्ने गर्दथे। तालिवानले सबै पुरुषलाई दाह्री पाल्न र महिलालाई बुर्का लगाउन अनिवार्य गरेका थिए।
तलिवानले टेलिभिजन, संगीत र नाटकमा प्रतिबन्ध लगाउनुका साथै १० वर्ष मुनिका बालबालिकालाई स्कुल जानबाट पनि वर्जित गरेको थियो। धेरै खालका मानअधिकार र सांस्कृतिक अत्याचारको आरोप उनीहरूमाथि लागेको थियो। सन् २००१ मा तालिवानले मध्य अफगानिस्तानमा रहेको वामियन बुद्धको मुर्ति तहसनहस पारे।
संसारकै ध्यान तालिवानमाथि तब केन्द्रित भयो, जब सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित ‘वर्ल्ड ट्रेड सेन्टर’ माथि आक्रमण भयो। आक्रमणका मुख्य योजनाकार मानिएका ओसामा बिन लादेन र उनको अल–कायदा आन्दोलनलाई आश्रय दिएको आरोप तालिबानलाई लाग्यो।
सन् २००१ को अक्टोबर ७ मा अमेरिका नेतृत्वको सैन्य गठबन्धनले तालिबान नेतृत्वको अफगानिस्तानमा हमला गर्यो, जसका कारण डिसेम्बरको पहिलो हप्तासम्ममा तालिबान सरकार धराशायी भइसकेको थियो। त्यस समय तालिबानका नेता मुल्लाह मुहम्मद उमर विन लादेनसहित आक्रमणबाट बचेर भाग्न सफल भए। त्यसपछि उनीहरू पाकिस्तानमा शरण लिएर बसेको मानिन्छ।
विश्व शक्तिलाई पनि दुई दशकसम्म टक्कर दिएको तालिवानले ठूला क्षेत्रहरूमा कब्जा जमाउँदै फेरि काबुलमा कब्जा जमाइसकेको छ। सन् २००१ मा सत्ताबाट हटाइएयता यसपटक तालिबान सबैभन्दा दह्रो रूपमा प्रस्तुत भएको थियो। नाटोको पछिल्लो आँकलनका अनुसार तालिबानसँग हाल ८५ हजार पूर्णकालीन लडाकु छन्। (एजेन्सीकाे सहयाेगमा)





























प्रतिक्रिया