बृद्धि हुन थाले भाइरल ज्वरोका बिरामी

बृद्धि हुन थाले भाइरल ज्वरोका बिरामी

केन्द्रबिन्दु
0
Shares

बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए । पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र  अझै सङ्क्रमणदर नघटेको जनाइएको छ ।

उनले भने “बालबालिकामा देखिएको सङ्क्रमण दर वढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ ।” अनमी विष्णुकुमारी रावलले जिल्ला अस्पतालमा उपचार हुन नसकेका चार  बालबालिकालाई रिफर गरिएको जानकारी दिइन् ।

मौसमी सङ्क्रमणजस्तो देखिए पनि ज्वरो र निमोनियाको सङ्क्रमणका बिरामी वृद्धिहुँदै गएको छ । अस्पतालमा दैनिक १५ देखि २० बिरामी उपचारमा आउने सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा १० भन्दा बढी बिरामी भर्ना भइ  उपचाररत छन् ।  खप्तड छेडेदह गाउँपालिका पनि  भाइरल ज्वरोका बिरामी बढेको आटीचौर स्वास्थ्यचौकीका इन्चार्ज रमेशबहादुर ओलीले जानकारी दिए । यसैगरी पूर्वी उत्तरी भेगको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको सङ्ख्या बढेका छन् । 

एक सय देखि १०५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका बिरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पतालका स्टाफ नर्स निशा रोकायाले बताइन् । उनीहरुलाई अक्सिजनका सहयोगमा उपचार गर्ने गरेको उनले जानकारी दिइन् । 

ज्वरोका बिरामी सरकारी स्वास्थ्य संस्थामा मात्र नभई निजी मेडिकलमा पनि उल्लेख्यनीय मात्रामा उपचारमा आउने गरेका छन् । मार्तडी सञ्चालन भइरहेका निजी क्षेत्रको खप्तड फार्मेसीका अमरराज जोशीले  मेडिकलमा दैनिक ४० देखि ५० जना उपचार गर्ने गरेको बताए । विद्यालय जाने बालबालिकाबाटै सङ्क्रमण फैलिएको उनको भनाइ छ ।

सङ्क्रमण दुई महिनादेखि पाँच वर्षमुनि उमेर समूहका बालबालिकामा बढी देखिए पनि १० वर्षसम्मका बालबालिकामा पनि देखिएको छ । जिल्ला अस्पतालले चार वर्षयताकै जटिल सङ्क्रमण देखिएको पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा जानकारी गराइसकेको छ । एकै महिना धेरै सङ्ख्यामा बालबालिका बिरामी भएर उपचारका लागि स्वास्थ्य संस्थामा भर्ना हुनु निकै जोखिम र खतराको अवस्था देखिएको अस्पतालका प्रमुख डा जोशीको तर्क छ । 

जिल्लामा गत साउन दोस्रो सातादेखि सङ्क्रमण फैलिएको हो । कोरोना जाँचमा नेगेटिभ देखिए पनि लक्षण सबै कोरोनासँगै मिल्ने गरेकाले थप जोखिम बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।

Skip This
Skip This
Logo