कोरोना महामारीसँगै थला परिरहेको नेपाली सिने क्षेत्रमा एउटा नौलो प्रयोगको सुरुवात भएको छ। महामारीका कारण दुई वर्षदेखि सिनेमा हलहरू बन्द छन्। सिने उद्योग नै धरापमा परिरहेको यो अवस्थामा चलचित्र ‘एक’ले भने ‘डिजिटल रिलिज’को प्रयास थालेको छ।
चलचित्र ‘एक’को डिजिटल (मोसन) पोस्टर मंगलबार ओएसआर डिजिटल नेपालले सार्वजनिक गरेको छ। नेपाली चलचित्र क्षेत्रमा सम्भवतः यो पहिलो नयाँ प्रयोग हो।
मनोज पण्डितको निर्देशन रहेको चलचित्र आगामी असोज २१ गते घटस्थापनादेखि डिजिटल प्लेटफर्महरूमार्फत प्रदर्शन हुनेछ। ‘अब हरेक कुराको डिजिटल युग सुरू भइसकेको छ। ‘विश्वका धेरै ठूला सिनेमा उद्योगहरू पनि डिजिटल प्रमोशनमा गइसकेका छन्’ निर्देशक मनोज पण्डित भन्छन् ‘अब नेपाली सिनेमा क्षेत्रमा पनि यसको विकल्प छैन। कसै न कसैले त सुरुवात गर्नै पथ्र्यो। यो रिस्क चलचित्र ‘एक’ मार्फत हामीले लिएका छौं।’
खासगरी नेपाली राजनीतिमा हुने विभिन्न षड्यन्त्र र बाह्य हस्तक्षेपको ‘प्लट’मा बुनिएको चलचित्र ‘एक’को मुख्य भूमिकामा विशाल पोखरेल छन्। खासगरी मधेस मुद्दामा केन्द्रित सिनेमामा मधेसका फाँटदेखि डोल्पाका हिमाली भेगसम्मका दृष्यहरू समावेश गरिएको छ।
गुप्तचर अधिकारीको भूमिकामा देखिएका विशालले चलचित्र एकलाई आफ्नो सिनेमा करिअरको ‘दोस्रो र निकै चुनौतीपूर्ण इनिङ्सका रुपमा लिएका छन्। यसअघि ग्रेटर नेपाल, दासढुङ्गा, वधशालाजस्ता चर्चित राजनैतिक सिनेमाहरू बनाइसकेका निर्देशक पण्डितका अनुसार यो सिनेमा ‘स्पाई थ्रिलर जनरा’ हो। यो सिनेमा निर्देशक पण्डितको सातौं चलचित्र हो।
सिनेमामा एक्सन निर्देशन प्रमोद खड्काले गरेका छन् भने अर्को मुख्य भूमिकामा प्रमोद अग्रहरि पनि रहेका छन्। स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापाले निर्माण गरेको चलचित्र ‘एक’मा बालकलाकारको भूमिकामा विश्वंत पोखरेल देखिएका छन्।































प्रतिक्रिया