नेकपा एमालेकाे एकताका लागि सक्रिय रहँदै आएका ९ नेताले संयुक्त वक्तव्य जारी गरेका छन् । बिहीबार ९ नेताले संयुक्त वक्तव्य जारी गर्दै १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् ।
बिहीबार राति युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त विज्ञप्ति जारी गर्दै १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सकेको भए त्यो एकताको बलियो आधार रहेको दाबी गरेका छन् ।
९ नेताद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ,‘त्यो सिफारिस एकताको बलियो आधार थियो, त्यसले पार्टी पंक्तिमा आशा र उत्साह जगाएको थियो । तर, त्यस सिफारिसलाई नेताहरुले ग्रहण गर्न र समझदारी लागू गर्न नसक्दा पार्टी नै विभाजन हुने स्थिति सिर्जना भयो ।
एमाले नेताहरुद्वारा जारी विज्ञप्तिमा देउवा सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशले एमालेमा मात्र संकट आउने नभई यसले सम्पूर्ण राजनीतिक पार्टीमा प्रभाव पार्ने र राजनीतिक अनिश्चयको दलदलमा फस्ने भन्न्दै अध्यादेश तत्काल फिर्ता गर्न माग गरिएको छ ।
माधव नेपाल पक्षका १४ सांसदमाथि गरिएको कारवाही तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन् । पार्टी विभाजनले कसैको हित नगर्ने भन्दै अलग पार्टी दर्ताको प्रक्रियालाई पनि तत्काल रोक्न माधव नेपाल पक्षलाई समेत आग्रह गरेका छन् ।































प्रतिक्रिया