०४५ भदौ ५ गते, आजै गएकाे थियाे शक्तिशाली भूकम्पः नेपालमा भूकम्पकाे इतिहास (भिडियाेसहित)

०४५ भदौ ५ गते, आजै गएकाे थियाे शक्तिशाली भूकम्पः नेपालमा भूकम्पकाे इतिहास (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

वि.सं. २०४५ भदौ ५ गते विहान ५ बजे आजैका दिन पूर्वी नेपालको उदयपुर केन्द्रविन्दु रहेको शक्तिशाली भूकम्प गएको थियो। सो भूकम्पको मापन ६.६ रेक्टर स्केल रहेको थियो। यो भूकम्पले ४० सेकेण्ड पुरै नेपाल हल्लाएको थियो।

यसमा ७२१ जनाले ज्यान गुमाएका थिए। शक्तिशाली भूकम्पमा परि ६५ हजार घरहरु ध्वस्त भएका थिए। तत्कालिन श्री ५ को सरकारले भूकम्पले भत्काएका घरहरु पुनर्निर्माणका लागि पूर्ण क्षति भएका घरहरुलाई १० हजार रुपैंयाँ र आंशिक क्षति भएका घरहरुलाई ५ हजार रुपैंयाँ ऋण सहयोग गरेको थियो। पछि उक्त ऋणलाई अनुदान दिइएको थियो।

त्यसयता धेरै भूकम्पहरु गए। ०७२ बैशाख १२ गते गएको ७.८ रेक्टर स्केलको भूकम्पमा परि करिव ९ हजार जनाले ज्यान गुमाए भने हजारौं घाइते भएका थिए । त्यसको पराकम्पन अझै पनि गइरहेका छन् ।

नेपालमा गएका विनाशकारी भूकम्पहरू

नेपालमा बितेको एक शताब्दीभित्र ५ वटा ठूला र विनाशकारी भूकम्प गइसकेका छन्। जनधनको क्षतिका हिसाबले २०७२ वैशाख १२ गतेको भूकम्प सबैभन्दा विनाशकारी हो तर १९९० साल माघ २ गतेको भूकम्प त्योभन्दा निकै ठूलो हो।

त्यसबाहेक २०४५ साल भदौ ५ गते गएको भूकम्पले पनि विशेष गरी नेपालको धरान शहरलाई गम्भीर क्षति पुर्याएको थियो । कम रेक्टर स्केलको भए पनि इपिसेन्टर नजिक घना आवादी भयो भने यसले ठूलो विनाश निम्त्याउन सक्छ भन्ने पनि ०४५ सालको भूकम्पले देखाएको छ।

त्यसयता धेरै भूकम्पहरु गए। ०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पले ०४५ सालको भूकम्पलाई विर्साइदिएको छ। तर पनि सो भूकम्प नेपालको इतिहासमा धेरै मानवीय र भाैतिक क्षति भएको भूकम्पको रुपमा लेखिएको छ।

काठमाडौंदेखि पूर्वको क्षेत्रमा गएका ठूला भुईंचालोमा विसं १९९० को महाभुईंचालो (८.४ रेक्टर), विसं २०४५ को उदयपुर केन्द्रविन्दु रहेको भुईंचालो (६.६ रेक्टर) हुन् भने त्यसपछिका भुईंचालोमा ०६८ असोज १ गते गएको भुईंचालो (६.९ रेक्टर) पनि पर्छ।

यसबाहेक साना भुईंचालोहरू दिनहुँ गइराखेका हुन्छन्। ०६८ असोज १ गते गएको भुईंचालो विसं २०४५ मा गएको भुईंचालो भन्दा ठूलो हो, तर पनि यसले ०४५ सालको जस्तो ठूलो क्षति पुर्याएको पाइएन। वि.सं. १९९० सालमा गएको महाभुईंचालोबाट नेपालमा मात्र हजारौंले ज्यान गुमाएका थिए।

भूकम्पीय इतिहास अनुसार नेपालमा हरेक ७० देखि १ सय वर्षमा एक महाभुईंचालो र हरेक ५० वर्षमा मध्यमखालको भुईंचालो जाने गरेको पाइन्छ। नेपालमा वि.सं १२८०, १३१२, १४०१, १७७१, १८३४, १८६५, १८८२, १८९०, १८९१, १९१४, १९२३, १९३८, १९९०, २०३७, २०४५, २०६८ र २०७२ सालमा ठूला भुईंचालो गएको इतिहास छ।

इतिहासविद्हरुले नेपालको इतिहासमा वि.सं.१२१८ को भूकम्पलाई अभिलेखमा रहेको पहिलो विनाशकारी भूकम्प मानेका छन्।

अझै पनि नेपालमा भूकम्प जान सक्छ। विशेषगरि पश्चिम नेपालमा यस अघि त्यति विनासकारी भूकम्प नगएकाले अब त्यस ठाउँमा ठूलो भूकम्प जान सक्ने विज्ञहरुले अनुमान गरेका छन् । यद्यपी प्राकृतिक प्रकोप कहाँ र कहिले जान्छ भन्नेमा भने यसै भन्न सकिने अवस्था रहँदैन।

भिडियाे रिपाेर्ट

 

Logo