१० बुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत, तटस्थ बस्नेहरुको मंगलबार कित्ता प्रष्ट हुने

१० बुँदे सहमति कार्यान्वयन गर्न ओली सहमत, तटस्थ बस्नेहरुको मंगलबार कित्ता प्रष्ट हुने

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी शर्मा ओली विघटित पार्टी एकता कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन्। 

एमालेबाट अलग्गिएर नेकपा (एकीकृत समाजवादी) बनाएका माधवकुमार नेपाललाई साथ नदिएका स्थायी कमिटी सदस्यहरुसँग आफ्नो निवास बालकोटमा सोमवार भएको बैठकमा अध्यक्ष ओलीले कार्यदलले तय गरेको सहमति कार्यान्वयन गर्दै पार्टी कमिटीलाई २०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउन तयार भएका हुन् । 

बैठकपछि प्रतिक्रिया दिदै पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकमा स्थायी कमिटीले १० बुँदेको कार्यान्वयनमा जोड दिएको र सोको कार्यान्वयन प्रक्रियालाई अझ तिव्रताका साथ अगाडी बढाउने बताए । थप छलफलका लागि भोलि ११ बजे पार्टी स्थायी कमिटीको बैठक तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा बस्ने निर्णय भएको छ । 

ज्ञवालीले भने, ‘छलफल असाध्यै सौहार्द, खुलस्त र उपलब्धीपूर्ण भएको सबै कमरेडहरुको निष्कर्ष छ । यो छलफलपछि अब पार्टीको एकतामा देखा परेका जे खालका समस्याहरु थिए, ती समस्या समाधान हुने, पार्टी दृढतापूर्वक अगाडी बढ्ने विश्वास हामीले लिएका छौँ ।’

‘छलफलमा अध्यक्षले अत्यन्तै सकारात्मक धारणा राख्नुभयो । पार्टीमा सबै साथीहरुलाई समान व्यवहार गर्ने, सबै साथीहरुको पुराना जिम्मेवारीहरुलाई यथावत राख्ने कुरामा अध्यक्षले प्रतिवद्धता व्यक्त गर्नुभएको छ,’ पार्टी एकताका लागि प्रयास गर्दै आएका एमाले सचिव योगेश भट्टराईले भने, ‘मूलतः १० सदस्यीय कार्यदलले गरेको १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्नुपर्छ भन्ने कुरालाई हामीले जोड दियौँ । त्यसको कार्यान्वयनको ठोस मोडालिटीहरु बनाउनको लागि भोलि नै स्थायी कमिटीको बैठक आह्वान गरिएको छ ।’

नेता भट्टराईले अलग्गै पार्टी दर्ताको प्रक्रियामा रहेका नेताहरुलाई त्यो प्रक्रिया स्थगित गर्न र पार्टी एकतामा फर्कन र पार्टी एकतामार्फत् नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न स्थायी कमिटीको बैठक मार्फत् सम्पूर्ण नेता, कार्यकर्ताहरुलाई अपिल पनि गरे ।

बिगतमा नेता माधवकुमार नेपाल पक्षमा सामेल भएका स्थायी कमिटी सदस्यहरु पार्टी एकताको पक्षमा रहदै नेता नेपाललाई साथ दिएका छैनन् । पार्टी एकताको प्रयासमा जुटेका स्थायी कमिटीका सदस्यहरुसँगको अध्यक्ष ओलीको सोमबारको बैठकलाई निर्णायक मानिएको छ ।

Skip This
Skip This
Logo