काठमाडौं ।
महाधिवेशन नजिकिएसँगै पार्टीभित्र बढ्दै गएको ध्रुवीकरण कम गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता लागिपरेका छन् । पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य पार्टीभित्रको विवाद हल गरी महाधिवेशनको सुनिश्चितता गर्न अनौपचारिक छलफलमा जुटेका हुन्।
१४ औं महाधिवेशन बारेको अन्योल हटाउन र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बुझाएको अल्टिमेटमसहितको ज्ञापनपत्रबारे शनिबार पार्टी कार्यालय सानेपामा नेताहरूबीच गम्भीर छलफल सुरु भएको छ।
‘बैठकको सुरुमै रामचन्द्र दाइले २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रबारे ब्रिफिङ गर्नुभयो । त्यसमाथि नेताहरूले आ–आफ्ना धारणा राखेका छन्,’ बैठकमा सहभागी केन्द्रीय सदस्य एनपी साउदले भने, ‘पार्टीभित्र एकता कायम गरी महाधिवेशनको सुनिश्चितता गर्ने कुरामा सबैको जोड रह्यो।’
बैठकमा वरिष्ठ नेता पौडेलले आफूहरूका माग सम्बोधन हुनुपर्नेमा जोड दिएका थिए । पौडेलपक्षीय नेताहरू प्रकाशमान सिंह, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. चन्द्र भण्डारीले विधान विपरीत भएका निर्णय खारेज हुनुपर्नेमा जोड दिए । पौडेल पक्षले फागुनमै महाधिवेशन हुनुपर्नेमा जोड दिएको थियो। पौडेल पक्षका धारणा सुनिसकेपछि महामन्त्री पूर्णबहादुर खड्काले विधानका व्यवस्था र महाधिवेशनका लागि पार्टी केन्द्रीय कार्यालयबाट भइरहेका गतिविधिबारे जानकारी दिएका थिए । उनले पार्टी समायोजनको काम अन्तिम चरणमा पुगिसकेको र सबै पक्ष मिलेर महाधिवेशनमा जुट्नुको विकल्प रहेको उल्लेख गरे। महामन्त्री खड्काले विधानविपरीत कुनै पनि निर्णय नभएको दाबी गरे। बैठकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले फागुनमा महाधिवेशन सम्भव नभएकाले नयाँ मितिबारे छलफल गर्नुपर्नेमा जोड दिए।
बैठकमा महामन्त्री डा. शशांक कोइराला, उपसभापतिद्वय विजयकुमार गच्छदार, विमलेन्द्र निधि र सभापति शेरबहादुर देउवाले धारणा राख्न बाँकी छ। पार्टीका केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण भएकाले भोलिको बैठक स्थगन भएको छ।अन्नपूर्णबाट





























प्रतिक्रिया