हेम–सरिता फाउण्डेशनले २०७७ सालको पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई प्रदान गर्ने घोषणा गरेको छ।
अमेरिकाको टेक्ससमा रहेको फाउण्डेशनका तर्फबाट टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार जीवराम भण्डारीलाई पुरस्कृत गरिने भएको हाे। साे पुरस्कारको राशि दुई हजार अमेरिकी डलर छ।
विगत ३३ वर्ष अघिदेखि पत्रकारिता क्षेत्रमा रहेका भण्डारीले छापा माध्यमबाट पत्रकारिता सुरू गरेका थिए । हाल उनी टेलिभिजनका चर्चित अन्तर्वार्ताकारका रूपमा परिचित छन्।
यस अघि यो पुरस्कारबाट जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसकेका छन्। एक दशक अघि स्थापित यस पुरस्कारका लागि यस वर्ष तीर्थ कोइरालाको संयोजनमा वरिष्ठ पत्रकार जीवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनाेट समिति गठन गरिएको थियो।
फाउण्डेशनले सुशासन एवं भ्रष्टाचारविरूद्ध कलम चलाउने तथा श्रव्यदृश्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई हरेक वर्ष सो पुरस्कारद्वारा सम्मानित गरिँदै आएको छ।अमेरिकामा रहेर व्यापार व्यवसायमा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेका थिए।





























प्रतिक्रिया