नेकपा एकीकृत समाजवादीको सनाखत, ईच्छुकलाई समाहित हुन आह्वान

नेकपा एकीकृत समाजवादीको सनाखत, ईच्छुकलाई समाहित हुन आह्वान

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका छन् ।

उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकोमा दुईजना मात्र सनाखतमा सामेल हुन नसकेको जानकारी दिए । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सनाखतमा उपस्थित भएनन् । 
पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका थिए । 

संघीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेको र दुुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिए । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुगेका थिए।

निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी) लाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ । सनाखतपछि नेता पाण्डेले भने, ‘दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गरिनेछ ।’

पाण्डेले भने, ‘प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ ।’

दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यकता पर्दथ्यो । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको उक्त दलसँगै आयोगमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले आजै आयोगमा पुुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गरेका थिए । रासस

Logo