मेरो उम्मेद्वारी कसैलाई असक्षम घोषित गर्न होइनः निधि

मेरो उम्मेद्वारी कसैलाई असक्षम घोषित गर्न होइनः निधि

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन्।       

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधिले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताए ।

उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारे । आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको उनले स्पष्ट पारे। 

उपसभापति निधिले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देश संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए। आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने सुझाए । 

उपसभापति निधिले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने पनि बताए। 

उनले भने, ‘नेपाली कांग्रेसमा र देशमा, संगठनको संरचनामा क्रमिक रुपमा नेतृत्वमा युवा पुस्ता पनि आउनुपरेको छ । म युवा पुस्ता नेपाली कांग्रेसको नेतृत्वमा आउन सकोस् । युवा पुस्ताले देशको नेतृत्व गर्न सकोस् । त्यसको निम्ति म सहजकर्ताको भूमिका निर्वाह गर्नको लागि पनि म सभापतिको पदमा उम्मेदवारी दिन आफूलाई तयार गर्न गएको ।’ उपसभापति निधिले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । 

 

Skip This
Skip This
Logo