मध्यमवर्गीय परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले सन् १९८१ मा स्थापना भएको हो लिटल एन्जल्स स्कुल। सन् १९९७ देखि ‘प्लस टु’ कार्यक्रम सञ्चालनमा ल्याएको यस स्कुलमा विज्ञान र व्यवस्थापन संकायको पढाइ हुन्छ।
विज्ञान संकायमा ३ सय ५० र व्यवस्थापन संकायमा २ सय ५० गरी ६ सय हाराहारीमा मात्र विद्यार्थी भर्ना लिने लिटल एन्जल्स ह्वारह्वार्ती भर्ना लिने ‘प्लस टु’का प्रवृत्तिभन्दा पृथक छ।
शिक्षक र विद्यार्थीबीच गाढा सम्बन्ध सिकाइको पूर्वसर्त नै हो। ‘पार्टटाइम’ शिक्षकले विद्यार्थीसँग राम्रो सम्बन्ध स्थापित गर्न सक्दैनन् भन्ने कुरा आत्मसात गर्दै लिटिल एन्जल्सले पूर्णकालीन शिक्षक मात्र राख्दै आएको छ।
‘देशभरका अभिभावकले माया गरेर आफ्ना बालबालिका भर्ना गर्न लिएर आउनुहुन्छ। तर, हामीले उहाँहरू सबैलाई माया गर्न नपाउँदा दुःख लाग्छ,’ लिटल एन्जल्सका प्रिन्सिपल कृष्ण अवस्थी भन्छन्।
अभ्यासद्वारा आर्जन गरिएको ज्ञान दिगो हुन्छ भन्ने मान्यताका साथ सञ्चालित लिटल एन्जल्सले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न प्रतियोगितात्मक कक्षा सञ्चालन गर्ने गर्छ।
प्रिन्सिपल अवस्थी भन्छन्, ‘देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा हाम्रो स्कुलका विद्यार्थीहरूले राम्रो खालको उपस्थिति देखाएका छन्। उनीहरूले आफ्नो व्यक्तित्व विकास गर्नुका साथै देश विकासका लागि ठूलो योगदान दिएका छन्।’
उत्कृष्ट भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, शान्तिपूर्ण शैक्षिक वातावरणका कारण पनि लिटल एन्जल्स अन्य ‘प्लस टु’हरूभन्दा फरक छ। आधुनिक कक्षाकोठासहितको यो संस्थाले श्रव्यदृश्य माध्यममार्फत् प्रभावकारीरूपमा पठनपाठन गराउँदै आएको छ।
पढाइमा अलि कमजोर विद्यार्थीलाई विशेष कक्षा व्यवस्था गरेर शैक्षिक गुणस्तरमा कलेजले विशेष ध्यान दिएको अवस्थी बताउँछन्।
अहिले पनि यस कलेजको नतिजा उत्कृष्ट १० भित्रै रहेको छ। साथै, विद्यालयस्तरमा पनि यस स्कुलले राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको छ। त्यसैले, यस स्कुलले अब्बल संस्थाका रूपमा शैक्षिक उन्नति– प्रगति काम गरिरहेको छ।
भविष्यमा यस शैक्षिक संस्थालाई युनिभर्सिटीको रूपमा अगाडि बढाइने अवस्थीको भनाइ छ। उनी भन्छन्, ‘देशमा कसरी शिक्षाको विकास गर्न सकिन्छ ? कस्ता खालका शैक्षिक जनशक्ति उत्पादन गर्न सकिन्छ र, ती जनशक्तिलाई विभिन्न क्षेत्रमा परिचालन गरेर कसरी देशको उत्थानमा योगदान पुर्याउन सकिन्छ भनी संस्था दत्तचित्त भएर लागेको छ।’
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला





























प्रतिक्रिया