साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले भोलि पाहुना टोली भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने खेलमा दुबै टोली सुखद लक्ष्यका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन्। कोरोना महामारीका सन्त्रासमा आयोजना हुन लागेको खेलमा सिमित दर्शकले मैत्रीपूर्ण खेल हेर्ने मौका पनि पाउने भएका छन्।
बिहीबार भारतसँग हुने मैत्रीपूर्ण खेलमा नेपाली टोली जीतका लािग खेल्ने नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज आयोजना गरेको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले नेपाल भारतविरुद्ध जित्नको लागि खेल्ने बताए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने दुई मैत्रीपूर्ण खेल अन्तर्गत नेपालले पहिलो खेल भोलि खेल्न लागेको हो। नेपालका लागि ७३औं खेल खेल्न लागेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारीरिक हिसाबमा तयार टोली तयार भएको बताए।
यस्तै भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रीपूर्ण खेल सहज नहुने बताएका छन्। प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल जहिले पनि बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केही परिवर्तन देखिए पनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए।
भारतीय टोलीका प्रशिक्षक इगोरले पनि कोरोनाका कारण उत्पन्न कठीन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दै साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए।
मैत्रीपूर्ण खेलका लागि आजै एन्फाले सिमित दर्शकलाई प्रवेश अनुमति दिने बताएको छ। प्रि–म्याचपछि बोल्दै अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले सरकारले सिमित दर्शकलाई उपस्थिति गराएर आयोजना गर्न स्वीकृति दिएको बताए।
कोरानाविरुद्धका दुवै खोप लगाइसकेका वा पिसिआर नेगेटिभ आएकालाई मात्र दशरथ रंगशालामा प्रवेश दिने एन्फाले बताएको छ। एन्फाले ५ हजार १ सय दर्शक प्रवेशका लागि सरकारसँग स्वीकृति मागेको जनाएको हो। नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएका छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ।





























प्रतिक्रिया