प्रदेश नं ५ कोे राजधानी देउखुरी राख्ने प्रस्ताव पेशदेखि पुनः लकडाउन नगर्न सरकारसँग मागसम्म (भिडियोसहित)

प्रदेश नं ५ कोे राजधानी देउखुरी राख्ने प्रस्ताव पेशदेखि पुनः लकडाउन नगर्न सरकारसँग मागसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङ जिल्लाकोे देउखुरीमा राख्न प्रदेश सभामा प्रस्ताव दर्ता भएको छ । शुक्रबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव प्रदेश सभामा पेश गरेका हुन् । अब असोज १९ गते बस्ने प्रदेश सभाको बैठकमा प्रदेश नं ५ को नाम र राजधानी टुंग्याउनका लागि मतदान हुनेछ ।

त्यस्तै आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बढाएको विद्युतीय गाडीको अन्तःशुल्क दर अन्ततः सरकारले घटाएको छ । अर्थमन्त्री डा. खतिवडाले बढाएको विद्युतीय गाडीको अन्तःशुल्क दर बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले घटाउने निर्णय गरेको हो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले अनसनरत डा. गोविन्द केसीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल पुगेर भेट गर्दै पूर्वराष्ट्रपति डा. यादवले सरकारले तत्काल डा. केसीको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

त्यस्तैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले आफू र पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

पुनः लडकाउन र निषेधाज्ञा नगर्न निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय व्यवसायिक पहल (एबीआई) को नेतृत्वमा स्वास्थ्य मन्त्रालय पुगेको उद्योगी–व्यवसायीहरुको टोलीले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग भेटवार्ता गर्दै लकडाउन र निषेधाज्ञा नगर्न आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा अब पुनः लकडाउन र निषेधाज्ञा नहुने बताएका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo