नेपाली कांग्रेसले ‘चिन्तन चौधौं महाधिवेशन’ कार्यक्रम गर्ने भएको छ। कार्यक्रम कांग्रेसको नीति र विचार केन्द्रित हुने छ।
पार्टीको १४ औं महाधिवेशनअघि कार्यक्रम हुने भएको हो। सूचना, सञ्चार तथा प्रचार विभाग सचिव दिनेश थापा मगरले कार्यक्रमको संयोजन डा. सुरेश आचार्यले गर्ने भएको बताए।
डा. आचार्य विभागका उपप्रमुख हुन्। कार्यक्रममा सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रूपान्तरणलगायत विषयमा ‘प्यानल डिस्कसन’ हुने मगरले बताए।
कार्यक्रमको तयारी र व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएका छन्। मगरका अनुसार कार्यक्रम गर्ने मिति भने एक साताअघि मात्रै सार्वजनिक गरिने छ।
विभागले १४ औं महाधिवेशनको प्रचारात्मक नारा पनि तय गरेको छ। ‘कांग्रेसमा उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं १४ औं महाधिवेशन’ तय भएको छ।
विपक्षी प्रहारको प्रतिवाद गर्न 'एनसी विन' गठन
विभाग प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सोमबार बसेको बैठकले नेपाली कांग्रेस वृहत सञ्चार सञ्जाल (एनसी विन) गठन गरेको छ।
जहाँ पार्टीको प्रविधि र सामाजिक सञ्जाल समन्वयसम्बन्धी काममा सरिक भएकाहरू रहेका छन्।
एनसी विनको तत्कालीन काम पार्टीको १४ औं महाधिवेशनको प्रचार गर्ने रहेको छ।
स्थानीय, प्रदेश र संघको आगामी निर्वाचनमा प्रविधि, आन्तरिक रणनीतिमार्फत् पार्टीको प्रचारसँगै विपक्षी प्रहारको प्रतिवाद गर्ने काम पनि एनसी विनले गर्ने उल्लेख छ।
विभागका सदस्य तथा इन्जिनियर दिपेश विष्टको संयोजकत्वमा एनसी विनको २७ सदस्यीय केन्द्रीय र सबै प्रदेशमा भिन्नभिन्नै संरचना पनि निर्माण गरिएको सचिव मगरले बताए।





























प्रतिक्रिया