हामीले हरेक दिन केन्द्रबिन्दु बुलेटिन प्रस्तुत गर्दै आइरहेका छौं । आजका समाचारहरु यस्ता छन्।
एमाले अध्यक्ष ओलीद्वारा सभामुख, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी दलविरुद्ध दायर मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि लिखित जवाफ भने १५ दिनभित्र पेस गर्न विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। सर्वोच्चले मुद्दा बारे अन्तरिम आदेश हुने/नहुने भन्नेबारे पनि छलफलका लागि निवेदक ओली र विपक्षीहरूलाई यही भदौ २८ गते बोलाएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल एमाले पार्टी समाप्त गर्ने महाअभियानमा लागेको बताएका छन्। पोखरामा आयोजित तीज कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव नेपालको पार्टीलाई प्युसो पार्टीको संज्ञा दिएका छन्। सघंैझैं मंगलबार पनि ओलीले नेपाललाई गालीको केन्द्रमा राखेका थिए। भेलालाई सम्वोधन गर्दै उनले कांग्रेस एमालेसँग लड्न आँट गरिनरहेको अवस्थामा माधव नेपालको प्युसो उम्रिन पाएको छैन, एमालेसँग मुकाबिला गर्ने सपना देख्छ भन्दै टिप्पणी गरेका छन्।
सोमबार उच्च अंकले बढेको शेयर बजारमा मंगलबार पुनः परिसूचक ४४.१८ अंकले ओरालो लागेको छ। ४४.१८ अंकले गिरावट आएर नेप्से २ हजार ९३६.६० विन्दुमा सिमित भएको छ। मंगलबार नेप्सेको १३ उपसमूह मध्ये ११ उपसमूह राताम्मे भए। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०५ अङ्कले घटेर ५४८.३५ मा पुग्दा मंगलबार कारोबार रकमसमेत ओरालो लागेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । एक समय हारतर्फ अग्रसर नेपाललाई रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जीत दिलाए।
चीनले अमेरिकालाई कोरोना महामारीविरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ यनविनले सोमबार उक्त मन्त्रालयलको नियमित प्रेस ब्रिफिङका क्रममा सो धारणा राखेका हुन् । विदेशकै अर्को प्रसंगमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेसँगै पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रका नागरिकमा स्थायीत्वको चिन्ता देखिएको छ।
आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७२ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ। नेपालमा आज १ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २५४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार ३०३ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ७२ हजार १८२ जना र एन्टीजेन परीक्षणबाट ८५ हजार ७१३ जना पुगेको छ। आज २१ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ।
आज १५ हजार ३४ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३९ लाख ८० हजार ८३२ जनाको पिसिआर र ४ लाख ९६ हजार ३७ जनाको एन्टीजेन परीक्षण गरिएको छ।





























प्रतिक्रिया