नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंको सुन्दरी जेल परिसर पुगेर उनले उम्मेदवारी घोषणा गरेका हुन्।
जुन जेलमा कांग्रेसका संस्थापक नेताहरू विपी कोइराला, गणेशमान सिंह, ईन्द्रमान शेरचन, दिवानसिंह राई, रामनारायण मिश्रलगायतका नेताहरूले लामो समय राजनीतिक बन्दीको रूपमा कैद भुक्तान गरेका थिए।
त्यही क्षेत्रको माटो छोएपछि विपीले रोपेका कपुरका बोटमा पनि जल सिञ्चित गर्दै शर्माले उम्मेदवारी घोषणा गरे। उक्त क्षेत्र पुग्दा भावुक हुने गरेको शर्माले बताए।
कैद भुक्तान गरेका तिनै संस्थापक नेताहरूको चर्चा पनि शर्माले गरे। उनी कांग्रेसको संस्थापन पक्षका हुन्। तर, कुन पक्षबाट उम्मेदवारी भन्ने उनले खुलाएनन्।
कांग्रेसमा शर्मा चर्चित युवा नेतामध्येमा गनिन्छन्। नेपाल विद्याथी संघका पूर्वअध्यक्ष समेत रहेका शर्मा प्रखर नेता हुन्।
शर्माको उम्मेदवारी घोषणासँगै हाल कांग्रेसको महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने नेताहरूको संख्या तीन पुगेको छ।
यसअघि चर्चितमध्येकै युवा नेताहरू गगनकुमार थापा र प्रदीप पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन्।





























प्रतिक्रिया