५५ वर्षीय तेजकुमार र २५ वर्षीय लोकबहादुर नातामा काका भतिज हुन्।
उनीहरूको नाता नजिकको हो। फेरि, तेजकुमार कार्की परिवारका हर्ताकर्ता पनि हुन्।
त्यही भएर लोकबहादुरका बाजेले तेजकुमारलाई अन्तिम समयमा भनेका थिए, ‘भतिज! म त मर्न लागें, म परे यिनीहरूको बिजोग हुन्छ, कमजोर छन् रेखदेख गर्नु है।’
सोही अनुसार तेजकुमारले आफ्नै सन्तान झैं ठानेर लोकबहादुरको परिवारको रेखदेख गरे। उनलाई सुरुमा तेजकुमारले मलेसिया पठाए।
त्यहाँ उनले खासै कमाएनन्। त्यसपछि कतार पठाए। तर, त्यहाँ रहँदा भने लोकबहादुरमा मानसिक समस्या देखापर्यो। काम गर्न सकेनन् र घर आए।
घर आएपछि उनको गतिविधि असामान्य भयो। झगडा गर्ने र स–सानो कुरामा पनि बढी आक्रमक हुने।
बुबा र भाइमाथि घरिघरि कुटपिट गर्थ थाले।
उनै लोकबहादुरले यही भदौ २१ गते भने आफ्नै बाजेले जस (तेजकुमार) लाई आफूहरूको रेखदेख र अह्राउ खटाउ गर्न भनेका थिए, उनीसहित उनका परिवारका ६ जनाको हत्या गरिदिए।
हत्यामा संलग्न भएको भनेर प्रहरीले लोकबहादुरलाई आज मात्रै सार्वजनिक गर्यो। हुन त उनलाई प्रहरीले २२ भदौदेखि नै शंकाको घेरामा राखेका थिए।
घटना अनुसन्धानको ‘कमाण्डर’ बनेका प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुणकुमार बिसीले प्रहरीले घटनास्थलमा रहेका व्यक्तिहरूको बयान कागज र सूक्ष्म अनुसन्धानका लागि गठन गरेको टोलीबाट आएको विवरणको आधारमा घटनामा संलग्नताबारे शंका गरेको बताए।
त्यसपछि भने उनीसँग सोधपुछ प्रहरीले गरेको उनी बताउँछन्।
‘घटनास्थलमा रहेका व्यक्तिहरूको बयान कागज र विभिन्न प्रहरी टोलीले बुझाएको विवरणको आधारमा घटनाबारे अनुसन्धान लोकबहादुरप्रति केन्द्रित गर्यौं’, डीआईजी बिसीको भनाइ छ।
घटनामा संलग्नताबारे लोकबहादुरले स्वीकारेको बिसीले बताए।





























प्रतिक्रिया