यसकारण चलाए अफगान महिलाले ‘मेरो लुगा नछोउ’ अभियान

यसकारण चलाए अफगान महिलाले ‘मेरो लुगा नछोउ’ अभियान

केन्द्रबिन्दु
0
Shares

तालिवानले महिला विद्यार्थीलाई पोसाकसम्बन्धी नयाँ नियम लागू गरेपछि अफगानिस्तानका महिलाहरुले त्यसको बिरोध गरेका छन्। महिलाहरुले मेरो पोसाक नछोउ अर्थात ‘ह्यासट्याग डुनट टच माई क्लोथ’ अभियान नै चलाएका छन्। उनीहरुले विभिन्न रंगीचंगी लुगा लगाएको तस्विर खिचेर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन्। 

विश्वप्रसिद्व सर्च इन्जिन गुगलले समेत अफगान महिलाको पोसाक सर्च गर्दा आधुनिक रंगीचंगी  पोसाक देखाउन थालेको छ। महिलाले ह्याट, हेडबिन, स्कर्टलगायतका अत्याधुनिक पोसाक लगाएर तस्बिर पोस्ट गरेर तालिवानी निर्देशनको बिरोध गरेका हुन्। तालिवानले सोमबार महिलाले अलग पोसाक लगाउनुपर्ने नयाँ नीति ल्याएको थियो। 

सामाजिक सञ्जालको ह्यासट्याग अभियान सुरु गरेकी डा. बहर जलालीले आफ्नो अभियानले परम्परागत पोसाकको पनि रक्षा गर्ने दाबी गरिन्। अफगानिस्तानको पहिचान र सार्वभौमसत्तामाथि हमला भएकोले आफूले सो अभियान चलाएको पूर्वप्राध्यापकसमेत रहेकी जलालीले बताइन्।

हरियो साडी लगाएको तस्बिर ट्विटरमा पोस्ट गर्दै उनी लेख्छिन्, ‘अफगानिस्तानको वास्तविक अनुहार।’

पछिल्लो २० वर्ष अफगान महिलाले अत्याधुनिक पोसाकमा सजिएर विश्वविद्यालय वा आफ्नो कार्यक्षेत्र जाने गरेका थिए। बुर्का र सम्पूर्ण शरीर ढाक्ने लुगाका सट्टा अफगान किशोरी जिन्स पाइन्ट र गलबन्दीमा सजिएका देखिन्थे। 

तर, तालिवानको शासन सुरु भएसँगै सम्पूर्ण शरिर ढाक्ने पोसाक लगाएका महिलाका तस्बिर बोकेर राजधानी काबुलमा केही महिलाले प्रदर्शन गरेको पनि देखिन्छ। 

यसै साता सार्वजनिक भएको एउटा भिडियोमा तालिवान समर्थित केही महिलाको प्रदर्शनमा ‘आधुनिक पोसाक लगाउनु र मेक अप गर्नु’  अफगान  मुस्लिम महिलाको प्रतिनिधित्व नगर्ने जनाइएको थियो। मुस्लिम कानून शरियासँग मेल नखाने अधिकार आफूहरुले नचाहेको केही महिलाले बताएका थिए।न्युज कारखाना/एजेन्सी

Skip This
Skip This
Logo