नेकपा एमालेका सांसदहरू सोमप्रसाद पाण्डेय र शारदादेवी भट्टले दायर गरेको मुद्दामा आज अन्तरिम आदेशका लागि सर्वोच्च अदालतमा छलफल हुँदै छ।
छलफल न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमा हुने भएको छ।
मुद्दाको पक्ष र विपक्षतर्फका कानुन व्यवसायीहरूले बहस गर्ने भएका छन्।
आइतबार न्यायाधीश मीरा खड्काको एकल इजलासले आइतबार मुद्दाको दुवै पक्षको उपस्थितिमा छलफल हुन उपयुक्त देखिएको ठहर गरेको थियो।
अन्तरिम आदेशको छलफलका लागि पेसी आजका लागि तोकी निवेदकहरूलाई प्रतिकूल असर पर्ने गरी कुनै कामकाबरबाही नगर्न पनि न्यायाधीश खड्काले आदेश दिएकी थिइन्।
निवेदकद्वय पाण्डेय र भट्टले एमालेले कारबाही गर्न सक्ने र कारबाहीलाई अन्तरिम आदेशमार्फत रोक्न माग गरेका थिए।
यस्तै, निर्वाचन आयोगले सनाखत नगराएकै कारण माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा रहन नपाएको र उक्त पार्टीको सांसद कायम गर्न पनि माग गरेका छन्।
यससम्बन्धी रिट २३ भदौमा निर्वाचन आयोगविरुद्ध उनीहरूले दायर गरेका हुन्।
नयाँ दल दर्ताका लागि दिएको निवेदनमा नाम नभएपछि निर्वाचन आयोगले उनीहरूलाई सनाखत गर्न नदिएको हो।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार नयाँ दल दर्ता गरेर अलग हुन चाहेको अवस्थामा एकैपटक जान चाहने सांसद वा पार्टीका नेताहरूको नाम दिनुपर्ने हुन्छ।
सोहीअनुसार सनाखत गर्न नदिएको आयोगले जनाएको छ।
९ भदौमा नेता माधवकुमार नेपालसहितका नेताहरूले आयोगमा दल दर्ताको निवेदन दिँदा उनीहरूको नाम थिएन।





























प्रतिक्रिया