सङ्खुवासभा सामूहिक हत्याकाण्ड रहस्यमय बन्दै, थप छ जना पक्राउ

सङ्खुवासभा सामूहिक हत्याकाण्ड रहस्यमय बन्दै, थप छ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

गत भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ। प्रहरीले थप छ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ। हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका भाइ नरेश कार्की र उनका बुबा, काका, काकी तथा दुई छोरामाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । हत्या आरोपित लोकबहादुर र उनका भाइ नरेशबाहेक अन्य पाँच जनामाथि अनुसन्धान थालिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाइ छ। अहिलेसम्म प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको आधिकारिक जानकारी कसैलाई दिएको छैन।

अनुसन्धानका क्रममा रहेकाले अहिले नै सबैको विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । लोकबहादुरका भाइ नरेशका साथबाट मृतक रञ्जना कार्कीको मोबाइल फेला परेपछि प्रहरी अनुसन्धान लम्बिएको हो । लोकबहादुर र नरेशसँगको बयानका आधारमा प्रहरीले थप पाँच जनालाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ।

घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए। हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो ।

रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो। मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन् ।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो ।

हत्या आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनलाई भदौ २८ गते बिहान मादी–१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वीभत्स रूपमा सामूहिक हत्या गरेको आरोप छ। 

Skip This
Skip This
Logo