अफगानिस्तानमा पुरुष शिक्षकलाई मात्रै विद्यालय आउन सूचना जारी, शिक्षिकाहरु चिन्तित

अफगानिस्तानमा पुरुष शिक्षकलाई मात्रै विद्यालय आउन सूचना जारी, शिक्षिकाहरु चिन्तित

केन्द्रबिन्दु
0
Shares

अफगानिस्तानका शिक्षिकाहरु आफ्नो भविष्यका बारेमा चिन्तित भएका छन्। शैक्षिक विषयमा अफगानिस्तानको तालिवान सरकारले तय गरेका नीतिहरुका कारण उनीहरु चिन्तित भएका हुन्।   

शिक्षा मन्त्रालयले छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय आउन सूचना जारी गरेपछि आफूहरु चिन्तित भएको शिक्षिकाहरुले बताएका छन्। मन्त्रालयले आइतबारदेखि लागू हुनेगरि कक्षा ७ देखि १२ सम्मका छात्र र पुरुष शिक्षकहरुलाई मात्रै विद्यालय जान सूचना जारी गरेको छ।

सूचनामा हजारौँ छात्राको पढाई तथा भविष्यका बारेमा केही उल्लेख नगरिएको पनि स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

साथै सूचनामा उनीहरुलाई कुनै निर्देशनसमेत नभएको भन्दै शिक्षिकाहरु चिन्तित भएको समाचारमा जनाइएको छ। शिक्षिकाहरुले आफुहरु परिवारमा निर्भर हुनु पर्दा पीडा महसुस भइरहेको समेत बताएका छन्।

राजधानी काबुलस्थित एक विद्यालयमा पस्तो भाषा विषय अध्यापन गराउने एक शिक्षिकाले आफूलाई विद्यालयले नबोलाएको बताइन्। विद्यालय फर्किने बारेमा आफुहरुलाई कुनै सूचना छैन, कुनै जानकारी नहुँदा अन्यौल सृजना भएको छ, उनले भनिन्।

उनले विद्यालयमा गएर अध्यापन गराउन नपाउँदा आर्थिक संकटसँगै मनोवैज्ञानिक समस्या उत्पन्न भएको बताइन्। उनको जस्तै अरु धेरै शिक्षिकाहरुको समस्या र गुनासो पनि उस्तै रहेको समाचारमा जनाइएको छ। 

संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ र युनेस्कोले पछिल्लो दुई दशकमा अफगानिस्तानको शिक्षा क्षेत्रमा धेरै उपलब्धी भएको जनाएका छन्। 

सन् २००१ देखि यता महिला साक्षरता दरमा पनि ठूलो बृद्धि भएको युनेस्कोको प्रतिवेदनमा उल्लेख गरिएको छ। सुरुमा महिला साक्षरता दर १७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशत पुगेको युनेस्कोले जनाएको छ। त्यसैगरी विद्यालय जाने छात्राहरुको सङ्ख्यामा पनि उल्लेख्य बृद्धि भएको युनेस्कोका अधिकारीहरुले बताएका छन्। 

सन् २००१ मा उच्च शिक्षामा सहभागी छात्राहरुको सङ्ख्या पाँच हजार रहेकोमा सन् २०१८ मा ९० हजार पुगेको थियो।

Skip This
Skip This
Logo