जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागीय टिम नेपाल पुलिस क्लब समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस समूह विजेता बनेको हो ।
पुलिसले गण्डकीलाई २५–१४,२५–१४ र २५–१८ को सेटमा पराजित गर्यो । यस जितसँगै समूह बी को विजेता पुलिसले ३ खेलमा ९ अंक जोड्यो ।
यसअघि पुलिसले मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लबलाई हराएको थियो ।
गण्डकी पनि समूह बी को उपविजेता बन्दै अन्तिम आठमा पुगेको छ । गण्डकीले ३ खेलमा ५ अंक जोड्यो ।
नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।
महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् ।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।





























प्रतिक्रिया