विगत तीन हप्तामा सापु रोगबाट एकसय बिरामी परेका छन् ।
सेतो पुतलीको सङ्क्रमणबाट आँखामा लाग्ने रोगलाई सापु भन्ने गरिन्छ । ४६ वर्षयता यति छोटो अवधि पहिलो पटक यति धेरै बिरामी देखिएको जनाइएको छ ।
त्रिवि शिक्षण अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रञ्जु खरेलले अझै तीन महिना सापु रोगको जोखिम बढ्न सक्ने भएकोले सचेतना अपनाउन आग्रह गरे। भदौदेखि मङ्सिरसम्म सो रोग देखिने गर्दछ ।
डा खरेलका अनुसार सापुबाट आँखाको भित्री भागलाई असर गर्नुको साथै आँखाको सबै पत्र दु्रतगतिमा सुनिन्छ र भित्रि भागमा पिप जम्दै जान्छ ।
नेपालमा सापु रोग विसं २०३२ मा पहिला पटक पोखराको एउटा विद्यालयमा देखिएको हो । रोग सबैभन्दा बढी बालबालिकामा देखिने गर्दछ । ३८ दिनको शिशुदेखि ८० वर्षका ज्येष्ठ नागरिकलाई पनि असर गर्ने गर्दछ ।
सहप्राध्यापक डा खरेलकाअनुसार प्रदेश १ , वाग्मती र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लामा सापुका बिरामी बढी देखिएका छन् । उनले सबै सेतो पुतली हानिकारक नभएको र कालो धर्सा तथा पुच्छरमा पहेँलो भएका सेतो पुतलीको काउसो वा झुस हुस हानिकारक हुने गरेको बताए ।
अहिले पोखरामा प्रशस्त्र मात्रामा भित्ता, बत्तीमा सेता पुतली रहेका छन् । कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका मानिसमा पनि यो रोग देखा पर्न सक्ने जनाइएको छ । “पुतली बसेर उठिसकेको हुन्छ र त्यसले आफू बसेको ठाउँमा झुस, अण्डा र काउसो छाडेर गएको हुन्छ । हो त्यहीँबाट सापु रोग देखिने गर्दछ ।” उनले भने।
अचानक एउटा आँखा रातो हुनु, रातो आँखाको कालो नानीको बीचमा सेतो देखिने, आँखाभित्र पिप जमेर नानी सेतो हुनु, आखाँको ज्योति घट्दै जाने यस रोगका लक्षण हुन् । एउटा आँखा रातो भएका अवस्थामा तुरुन्तै नजिकैको आँखा उपचार केन्द्रमा परीक्षण गराउनु पर्ने उनको भनाइ छ ।
यस्तै सापुबाट आँखा सुकेर र कुरुप समेत हुने जनाइएको छ । सापु सम्भावित ठाउँमा चिप्रा नलाग्ने गरी एउटा मात्रा आँखा रातो भएका अवस्थामा सापु रोग लागेको शङ्का गर्नुपर्दछ । अहिले गण्डकी प्रदेशको हिमालय आँखा अस्पताल र लुम्बिनी प्रदेशको लुम्बिनी आँखा केन्द्रमा सापुका बिरामीले श्यया भरिएका बताइएको छ ।
नेत्र रोग विशेषज्ञ डा खरेलका अनुसार सापु रोगका तीन अवस्था हुन्छन । पहिलो अवस्थामा आँखा रातो हुनु यसलाई सामान्य सापु भन्ने गरिन्छ र यस्तो अवस्थामा आँखालाई पहिल्यैकै अवस्थामा फर्काउन सकिन्छ । सामान्य अवस्थामा उपचार गर्न सकिएन भने आँखामा पिप जम्न थाल्दछ । यसलाई मध्यम अवस्थाको सापु भनिन्छ । यस अवस्थाबाट पनि उपचार गरेनौं भने अति जटिल अवस्थामा सापुको बिरामी पुग्ने गर्दछन् ।
यसबाट जोगिन सेतो पुतलीको संसर्गबाट टाढा रहने, बालबालिकालाई झाडीको वरपर खेल्न नदिने, झुल लगाएर सुत्ने गर्नुपर्छ । रासस





























प्रतिक्रिया