फिफाका पूर्व रेफ्री लव खत्रीको निधन भएको छ। बिहान बाथरुममा लडेर टाउकोमा चोट लागेपछि नख्खुस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो।
सोमबार बिहान मर्निङवाक गरेर खत्री नुहाउनका लागि वाथरुममा छिरेका थिए। वाथरुममा लडेर अचेत भएपछि उनलाई उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो। हस्पिटलले निधनको कारण औपचारिक रुपमा बताएको छैन।
घरेलु फुटबलका चर्चित रेफ्री मध्येका ५० बर्षीय खत्री पछिल्लो समय रेफ्री इन्स्ट्रकरका रुपमा सक्रिय थिए । खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले ए डिभिजन टोली थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्स क्लबबाट फुटबल खेलेका थिए।
उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए। उनले करिब डेढ दशक रेफ्रीको भूमिकामा घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा देखिएका थिए। तर उमेर हदका कारण सन् २०१८ मा उनले फिफा रेफ्री छाड्न परेको थियो। उनकी श्रीमती र १ छोरा छन्।





























प्रतिक्रिया