काठमाडौं ।
कोरोना असरपछि सरकारले गत असोज १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छ । लामो समय ग्यारेजमा नै थन्किएर बसेका सवारीहरु सरकारले सञ्चालन गर्न अनुमति दिए पछि व्यवसायीहरु उत्साहित बनेका थिए । तर अहिले सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु नै पाउन छोडेकाले व्यवसायीहरु इन्धनको पैसा पनि नउठ्ने भन्दै चिन्तित भएका छन् ।
यातायात व्यवसायीहरुको सिजन भनेको दशै तिहार लगायतको समयलाई मान्ने गरिन्छ । गएका वर्षहरुमा दशैं तिहार आउनुभन्दा एक महिना अगाडि देखि नै यातायात क्षेत्रमा ठूलो चहलपहल सुरु हुन्थ्यो । तर, यो वर्ष व्यवसायीहरु उत्साहित देखिएका छैनन् ।
चार्डपर्वहरु नजिकिँदै गर्दा पनि लामोदूरीको यात्रा गर्ने यात्रु नपाउने भएकाले यो वर्षको दशै–तिहारका लागि एक महिना अगाडिदेखि अग्रिम टिकट बुकिङ खुलाउने या नखुलाउने भन्ने विषय नै अन्योलमा परेको छ । भाइरस प्रभावले उपत्यकामा रहेका अधिकांश विद्यार्थीहरु, रोजगारी नभएका मानिसहरु सबै गाउँघरमा नै रहेकाले दशैंमा यात्रा गर्ने यात्रुको अभाव देखिएको छ । यसले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने कुनै पनि प्रक्रिया अगाडि नबढेको यातायात व्यवसायीहरु बताउँछन् ।
सरकारले लामो दूरीका सार्वजनिक सवारीमा ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने मापदण्ड बनाएको छ । तर यातायात सञ्चालनमा आए पनि लामो दूरीको यात्रा गर्ने यात्रु १० प्रतिशत पनि नभएकाले अग्रिम टिकट बुकिङ खोल्ने कुनै प्रक्रिया अगाडि नबढाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
यात्रु नै नभएपछि अग्रिम टिकट बुकिङ खुलाउनुको कुनै औचित्य नभएको सिटौलाको भनाइ छ । सरकारले सकेसम्म सार्वजनिक यातायात प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ । तर, यात्रु नै बोक्ने एयरलाइन्स कम्पनीहरूलाई भने निर्वाध रूपमा सिटफुल यात्रु बोकेर सञ्चालन गर्न अनुमति दिएकाले सबै यात्रु हवाई उडानमार्फत जाने गरेकाले यातायात व्यावसाय धरासायी बन्दै गएको सिटौलाको भनाइ छ ।
यता कोरोनाको प्रभावले मानिसहरु घर बाहिर अत्यावश्यक बाहेक निस्कन पनि छोडेका छन् । दशैँमा घर जाने पनि कमै हुने भएकाले यस्तो अवस्थामा टिकट बुकिङ आवश्यक नरहेको व्यवसायीहरुले बताउँदै आएका छन् । यातायात व्यवसायीहरुले यात्रु नपाएको गुनासो भएकाले पनि दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने विषयमा विभागले कुनै पनि निर्णय नगरेको व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।
अर्कातर्फ कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले यसबाट सुरक्षित रहनको लागि लामो दूरीमा गाडी सञ्चालन गर्ने सबै व्यवसायीलाई दशैंका लागि अनिवार्य अनलाइन टिकट बुकिङको व्यवस्था मिलाउन यातायात व्यवस्था विभागले निर्देशन दिएको थियो । तर, अग्रिम टिकट बुकिङ नै नखुल्ने भएपछि यो व्यवस्थाबाट पनि व्यवसायीहरु पछि हटेका छन् । टिकट बुकिङ गर्न जाँदा भिडभाड बढ्ने भएकाले टिकट बुकिङ अनलाइनबाट नै गर्ने व्यवस्था गर्नु पर्ने भएको थियो । तर, अहिले यो विषयमा सरकार तथा व्यवसायीहरु दुबै अन्योलमा देखिन्छन् ।
यसैबिच सोमबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीका सिटभरि यात्रु राखेर चलाउन दिन पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै यो व्यवस्था हटाउन लिखित माग पेस गरेका छन् । सरकारको आधा मात्रै सिटमा यात्रु राख्ने नीतिले यात्रुसमेत मर्कामा पर्ने भन्दै व्यवसायीले दशैं अघि नै हटाउन सरकारसँग माग गरेका छन् ।































प्रतिक्रिया