कोरोनाका बीच पनि पाँचखाल शहरी खानेपानी आयोजनालाई तीव्रता

कोरोनाका बीच पनि पाँचखाल शहरी खानेपानी आयोजनालाई तीव्रता

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनाले तीव्रता पाएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामले हाल तीव्रता पाएको हो ।

पाँचखाल नगरपालिकाका १० वडाका सात हजार परिवारलाई खानेपानी पुर्याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको छ । आयोजना कार्यान्वयनका लागि निर्माण कम्पनीसँग गत असार १६ गते खानेपानी तथा ढल व्यवस्था विभाग, नगर विकास कोष, नगरपालिका तथा उपभोक्ता समितिबीच अढाई वर्षमा निर्माण कार्य सक्ने सम्झौता भइसकेको छ । आयोजनाको काम नेपाली कम्पनी कन्काई विल्डर्स र चिनियाँ कम्पनी हुवाछे (ज्वाइन्ट भेन्चर) ले सम्पन्न गर्नेछ ।

परियोजनाको ०७६ साल भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।

आयोजना कार्यान्वयनको प्रारम्भिक चरणको काम भइरहेको आयोजना निर्देशक रामकुमार श्रेष्ठले बताए। उनले खानेपानी आयोजनाको सरोकारवाला पक्षका इन्जिनीयरले संयुक्त रुपमा सम्पूर्ण सर्वेको कामको प्रक्रिया थालिएको, विभिन्न स्थानको निर्माण सामग्रीको प्रयोगशाला परीक्षण भइरहेको र अढाई वर्षको ‘वर्क प्लान’ बनिरहेको जानकारी दिए। उनले भने, “निर्धारित समयसीमाभन्दा पहिल्यै काम सक्ने गरी सरोकारवाला सबैको परिचालन भइरहेको छ ।”

श्रेष्ठले कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण मजदूरको स्वास्थ्य–सुरक्षासहित आवास तथा दैनिक स्वास्थ्य जाँचको प्रबन्ध गर्न तथा भौतिक दूरी कायम गरी निर्माण कार्य थाल्न आयोजना र निर्माण कम्पनीसँग छलफल भइरहेको बताए। “कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमबीच मजदूरको स्थानान्तरणका लागि विशेष पहल भइरहेको छ”, उनले भने।

उक्त खानेपानी आयोजना रु दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइए पनि निर्माण कम्पनीले रु एक अर्ब ३४ करोड ६६ लाखमा सक्ने जनाएको छ । हाल कार्यान्वयनको चरणमा रहेका आयोजना अन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजना मध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा मानिएको छ ।

आयोजना सम्झौताको सर्त अनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । जस अनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका हुन् । खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्याउन पाँचखाल नगर कार्यालयद्वारा सर्वेको काम भई मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए।रासस

Logo